काठमाडौं- पाँच जनाको ज्यान गएको र एक जना बेपत्ता भएको पश्चिम रुकुमको चौरजहारी घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीलाई पनि घटनास्थल पठाउने तयारी भएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँग कुरा गरिसकेको गृह मन्त्रालय स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।
‘स्थानीय प्रहरीलाई थप सहयोगका लागि केन्द्रबाट सिआइबीको टोली पठाउने बारे पनि तयारी भइरहेको छ,’ गृह स्रोतले भनेको छ। प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको सिआइबी महानिरीक्षक सचिवालयको आदेश आएपछि घटनास्थल जाने तयारीमा बसेको छ।
अहिले स्थानीय प्रहरीका साथै प्रदेश प्रहरीको टोली र गृह मन्त्रालयले बनाएको सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको उच्चस्तरीय समितिले समेत घटनास्थल पुगेर काम थालिसकेको छ। समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सह–अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल छन्।
आइतबार नै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत काठमाडौंबाट छानबिनका लागि घटनास्थलतर्फ गएको छ। सिआइबीले स्थानीय प्रहरीलाई टेक्किनल सपोर्ट गर्नुका साथै अनुसन्धानमा सहयोग पुर्याउने छ। देशभरका जघन्य प्रकृतिका अपराधको घटनामा सिआइबी परिचालन हुँदै आएको छ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेको आरोप लागेको छ।
कुटाइकै क्रममा नवराजसहित ५ जनाको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ। नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक गरी पाँच जनाको शव भेटिइसकेको छ भने भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।