काठमाडौं– पाँच जनाको ज्यान गएको र एक जना वेपत्ता भएको पश्चिम रुकुमको चौरजहारी घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा भएको उक्त चौरजहारी नरसंहारको छानबिन गर्न आयोगको टोली आइतबार घटनास्थलतर्फ गएको आयोगका प्रवक्ता वेद भट्टराइले जानकारी दिए।
यसअघि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो।
आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने जनाएको छ।
जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुर्याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आयोगले आग्रह गरेको छ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लोको जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेको आरोप लागेको छ। कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ।
अहिलेसम्म चार जनाको शव भेटिइसकेको छ। नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक गरी पाँच जनाको शव भेटिएको छ । भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।