बेइजिङ- चीनको वुहानमा कोरोना भाइरस गत वर्ष सुरु भएको थियो। वुहान हुँदै अहिले यो भाइरस विश्वभर फैलिएर महामारीको रुप लिइरहेको छ।
अहिले वुहानको अवस्था सुधार भएको छ। यहाँ कोरोना भाइरसका नयाँ बिरामी छैनन् तर चीन सरकारले मास टेस्टिङ सुरु गरेको छ। चिनियाँ अधिकारीले दुई हप्ताभित्र वुहानको सबै सदस्य अर्थात् १ करोड दश लाख मानिसको कोरोना टेष्ट गर्ने निर्णय गर्यो। अधिकारीका अनुसार विभिन्न उद्योगधन्दा‚ विद्यालय खोल्नुअघि सबै मानिसको कोरोना टेस्ट गर्न जरुरी भन्दै यस्तो कार्य सुरु गरेका हुन्।
यसरी मास परीक्षण गर्नुको कारण यहाँ कसैमा कोरोना भाइरसको लक्षण बाँकी छ कि भनेर पत्ता लगाउनु हो। यही क्रममा वुहानमा मे १८मा १४ लाख ६७ हजार ८ सय ४७ जनाको एकै दिन कोरोना टेस्ट गरिएको छ। बिहीबार वुहानमा १० लाखभन्दा धेरै मानिसको कोरोना परीक्षण गरिएको छ। शुक्रबार चीनले विश्वलाई नै आश्चर्यमा पार्नेगरी एकै दिनमा १४ लाख ७० हजार ९ सय ५० जनाको कोरोना परीक्षण गरेको छ।
यसरी लाखौं मानिसको एकैपटक परीक्षण गर्दा पनि त्यहाँ कोरोना भाइरसको नयाँ बिरामी फेला परेका छैनन्। अहिलेसम्म चीनमा कोभिड-१९ का बिरामीको संख्या ८४ हजार रहेको छ भने ४ हजार ६ सयले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।