लहान- सिरहाको लहान नगरपालिकास्थित सलहेस फूलबारीमा शनिबार मेला लागेको छ। वडा नं १२ र २२ मा पर्ने यस धार्मिक तथा सांस्कृतिक स्थलमा हरेक वर्ष बैसाख१ मा मेला लाग्ने गरेको छ।
मेलामा नेपालका अतिरिक्त भारतको बिहार, सहरसा, सुपौल, पूर्णिया, पटनासम्मका मानिसहरु आउने गर्दछन्। बैसाख १ मा फूलबारीको मध्य भागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न मानिसको भिड लाग्ने गरेको हो।
लोकनायकको रुपमा पुजिने राजा सलहेस र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा यो सुनाखरीलाई लिने गरिएको छ।

सलहेस गाथा अनुसार सिरहाको महिसोथामा जन्मिएका लोकनायक सलहेसको फूल टिप्ने ठाउँ र प्रणयस्थल हो– फूलबारीधाम । तेह्रौं शताब्दीका लोकनायक सलहेस र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर प्रेम असफल भएपछि सलहेसको प्रतीक्षा गर्दै मालिनी मालाको रुपमा बैसाख १ मा फुल्ने जनविश्वास रहेको सलहेस गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए। यसैगरी, राजा सलहेसले आफ्नी रानीको मनोरञ्जनका लागि यो बगैंचा बनाएको पनि किंवदन्ती छ।
६ सय वर्ष अगाडिका राजा सलहेसले नै यो मेला (जात्रा) लगाउने चलन चलाएको मान्यता छ। सलहेसको सिरहा सदरमुकाम नजिक महिसोथामा दरबार रहेको र त्यसको अवशेष अझै बाँकी रहेको स्थानीयहरु बताउँछन्। पछिल्लो समय, फूल हेर्नकै लागि मानिसहरुको जमघट बढ्दै जाँदा यसले विस्तारै मेलाको रुप लिएको हो।
तराईका दलित समुदायमा पर्ने पासवान जातिका इष्टदेव मानिने सलहेसको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग लगायतका रोगव्याधी नलाग्ने जनविश्वास छ। लहान बजारदेखि करिब ४ किमि दक्षिण पश्चिममा रहेको फूलबारीमा भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट मानिस आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।