ब्लग लेख्नु भन्दा पहिला त यो राष्ट्रवाद भन्ने शब्द कसरी लेखिन्छ भन्नेमै सन्देह भयो। यसो गुगलमा 'सर्च' गरेको राष्ट्रवादको अर्थ त 'नेसनालिजम्' भनेर आयो। अब अलिकति कुरो बुझे जस्तो लाग्यो राष्ट्रवाद भनेको राष्ट्रियता रहेछ। अब यो राष्ट्रियताबारे पनि गुगल गर्ने विचार गरेँ। अर्को शब्द भेटेँ- राष्ट्रभक्ति। जति खोज्दै गयो त्यति गहिरो शब्दजाल रहेछ राष्ट्रवाद, राष्ट्रियता र राष्ट्रभक्ति भन्ने विषय।
सुन्दा सबै उस्तै लाग्ने तर अर्थ सबैको फरकफरक। त्यति बुझेपछि एउटा टुंगोमा पुर्याएँ यो 'राष्ट्रवाद' भनेको हिन्दी शब्द हो। हाम्रो राष्ट्रबाद हो। किनकी हामी 'राष्ट्र+बा+द' भन्छौँ। हाम्रा छिमेकी 'राष्ट्र+वा+द' भन्दा रहेछन्। यहाँ फरक भनेको त 'बा' र 'वा' को मात्र देखेँ। के यो 'वा' या 'बा' ले नै सबै कुरा बिगारेको हो त? यो विषयमा फेरि सोच्न बाध्य बनायो। फेरि सुरु भयो- यो 'वा' र 'बा'को भिन्नताको खोजी। यो 'बा' त भोजपुरी गीतमा नभै नहुने वाक्य रहेछ। जे गीत गाए पनि 'गएलबा', 'भएलबा', 'गरेलबा', … अनगिन्ती।
नेपालीमा म र मेरा 'बा', 'बा' ईश्वर हुन्, 'बा' कता जानुभो यस्तै यस्तै फेला परे। सबै कवितावाला 'बा'। सबै कविता आमाका नाममा हुन्छ भन्ने सुनेको बाको बारेमा पनि फालाफाल कविता रहेछन्। यो राष्ट्रवादको खोजीमा 'बा' कविता भेटियो। भेटेकोमा म चार वर्षको हुँदा मेरा बा, छ वर्षको हुँदा मेरा 'बा' भन्ने खुब मनपर्यो। गुगल गर्नुस् तपाईलाई पनि पक्कै मनपर्छ।
अब कुरा गरौँ छिमेकीको 'वा' को। यो 'वा' भन्ने वाक्य अलि पावरफूल रहेछ। यसको त फ्याट्टै विक्सनरी नै भेटियो। भित्र हेरेको त हिन्दी मात्रै हैन संस्कृत, कन्नड़, कोंकणी, नेवारी र पाली भाषामा पनि प्रयोग हुने वाक्य रहेछ। 'वा' ले 'बा'लाई त्यतिकै हेपेको रहेछन् भन्ने कुरो छर्लङ्ग भयो।
यी सबै कुरो हेरेपछि बल्ल दिमागमा घुस्यो यो राष्ट्रवाद भन्ने शब्द नै यति गहिरो रहेछ की यसको अर्थ फरकफरक तरिकाले व्याख्या गर्न सकिने रहेछ। तपाईंले कुन कुरामा यो शब्दलाई अगाडि बढाउने भन्ने कुरामा तपाईको आन्तरिक रहर, इच्छा र परिचालित को संख्यामा भर पर्ने रहेछ। जसले तपाईंलाई अजय र अमर बनाउने कुरा तय गर्दछन्। यो शब्दलाई सही या गलत जुनसुकै अर्थमा प्रयोग गर्न सक्नुभयो भने तपाईंको पछाडि लाइन लाग्नेहरूको कमी नहुने हुँदा बेलाबेलामा यो शब्दको चर्चा परिचर्चा हुने गर्दो रहेछ।
यो शब्दको गलत प्रयोगले पनि तपाईका जतिसुकै असफलताका कर्मलाई तुरुन्त बिर्सन बाध्य बनाउँछ। जब तपाईं असफलताको चरम बिन्दुमा पुग्नुहुन्छ यो एउटा यस्तो मन्त्र हो, जसले तपाईंलाई सफलताको उत्कर्षमा तुरुन्त पुर्याउन सहयोग गर्दछ। शब्दकोषमा रहेको यो यस्तो शब्द हो, जसको प्रयोगले तपाईंलाई सबै कुरा देख्दादेख्दै र सुन्दासुन्दै पनि अन्धो र बहिरो बनाउन सक्छ। जब तपाईंले यो शब्दलाई गलत प्रयोजनको लागि प्रयोग गर्दा पनि यो गलत भयो भन्न सक्ने कोही पनि भेट्न सक्नुहुन्न। यति वजनदार शब्द हो कि यसको जुनसुकै भाषामा उल्था गरेपनि यसको राप तापमा कुनै कमी आउँदैन।
अब कुरो गरौँ 'बा'को। 'बा' भन्नाले राष्ट्रबादको। सहरै नभएको गाउँ नै गाउँले भरिएको, हरिया डाँडाकाँडा, कोषौँकोष टाढासम्म पाठशाला नभएको, रामायणमा खराउको कथा सुनेको तर चप्पल पनि नदेखेका, मिठोमसिनो खानलाई दशैंतिहार कुरेका, दुःखदर्द सबै देखेका बुझेका कठै मेरो 'बा'। हिजो सबै एकै हुन्, सबै समान हुनुपर्दछ भनेर जेलनेल भोगेका सबैको लागि लडेका आफूभन्दा हुने खानेलाई सामन्ती देखेका। जेलनेल, दुःखकष्ट सबै बुझेका केही गर्न सक्छन् भन्ने सबैले आश राखेका आदिआदि गुणले भरिएका मेरा 'बा'।
आजभोलि कोरोना वा कोभिडको चंगुलमा पसेको विश्व र त्यसैको कहरमा थला परेकी आमाको ध्यान दिनुपर्ने बेला मेरा 'बा' 'वा'सँग जोरी खोजी रहेका छन्। 'बा'लाई राम्रोसँग थाहा छ- यो जोरी खोज्ने बेला होइन। आफ्ना बाउबाजेले जम्मा गरेर राखेका प्रमाण, साक्षी जम्मा गरेर सिधै 'वा'सँग कुरा गर्ने हो। न कि हल्ला गर्दै कटवाल बोलाउन लाग्ने। 'बा' ले 'वा'विरुद्ध जाइलागे जस्तो गरे भने पनि बाचुन्जेलसम्म मात्र होइन मरेपछि पनि अम्मर रहन्छु भन्ने भ्रम पालेकाले गर्दा नै 'बा' अहिले 'वा'सँग डगमगाएका छैनन्।
'बा'ले 'वा'सँग धेरै कुरा फिर्ता लिनु छ। 'बा'ले यो कुरा बुझ्न जरुरी छ। यी घरभित्रका आफ्ना आफन्तसँग गर्जेर केही हुनेवाला छैन। गर्जने त सिधै 'वा'सँग हो। 'वा'सँग 'बा'को दुईचार पटक राम्रैसँग उठबस भएकै हो। 'बा'ले सिधै कुरा गर्न किन सक्नु भएन? किनकि 'बा'लाई राम्रोसँग थाहा थियो- असफलताको चरमबिन्दुमा पुगको। सिधै प्रमाणसहित कुरा गरेँ भने कसैले सुन्ने पनि छैन। मेरो असफलतालाई ढाकछोप गर्ने कोही हुने छैन।
'बा'सबैलाई ढाँटेपनि मानिसले आफूलाई आफूले कहिल्यै ढाँट्न सक्दैन। एकपटक त्यो चारैतिरबाट स्वार्थले भरिएका स्वार्थी समूहको पर्खाल तोडेर बाहिर निस्कनु होला। हिजो जसको लागि ज्यानको बाजी लगाएर लड्नुभयो ती गरिबदुःखीको आवाज सुनिदिनु होला। जय देश! जय राष्ट्रबाद!!
@Rhishendra
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।