काठमाडौं- लघु, घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगलाई तीन वर्षसम्म आयकर छुट दिन र त्यस्तो उद्योगको वार्षिक कारोबारमा एक करोड रुपैयाँसम्म थ्रेसहोल्डको सीमा तोक्न सरकारसँग आग्रह गरेको छ।
कोभिड १९ महामारीका कारण लघु, साना र घरेलु उद्योगमा परेको असर र राहतका लागि राज्यबाट गरिनुपर्ने पहलका विषयमा महासंघले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्रमार्फत महासंघले औद्योगिक व्यवसाय ऐनबमोजिम लघु उद्यमलाई पाँच वर्ष आयकरमा छुट दिने व्यवस्था भए बमोजिम घरेलु तथा साना उद्योगलाई कम्तिमा तीन बर्षको आयकर छुट दिने व्यवस्था आर्थिक ऐनमा गरिनुपर्ने तथा लघु, घरेलु तथा साना उद्योगहरुको कारोवारमा थ्रेसहोल्डको सीमा वार्षिक एक करोडसम्मको व्यवस्था गर्नुपर्ने माग सरकारसँग राखेको छ।
त्यस्तै, लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्रयोग गरिने नवीनतम प्रविधिका मेसिनहरु आयात गर्दा लाग्ने एक प्रतिशत भन्सार कर बाहेक अन्य करहरु पूर्णरुपमा छुट दिइनुपर्ने तथा स्थानीय तहहरुले लगाउने दोहोरो तेहोरो कर खारेज गरिनुपर्ने महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। साना उद्योगहरुलाई एक बर्षसम्मको ब्याजदर छुट दिने र यस्ता उद्योगहरुको पुनःसंचालनका लागि आवश्यक पर्ने कर्जा ४ प्रतिशत ब्याजमा उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ। साथै लघु, घरेलु तथा साना उद्यमीले उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ लगायतका सामानहरुमा कर छुटको व्यवस्था गर्नुपर्ने सो पत्रमा उल्लेख छ।


लघु, घरेलु तथा साना उद्यमीहरुको मेसिनरी लगायत स्थिर पुँजीलाई पनि धितो मानी सहुलियतपूर्ण परियोजना कर्जा दिने व्यवस्था हुनुपर्ने महासंघको भनाई छ। मौद्रिक नीतिले हरेक वर्ष उल्लेख गर्ने गरेको लघु घरेलु तथा साना उद्योगी पुनरकर्जा, महिला उद्यमी पुनरकर्जा तथा निर्यात पुनरकर्जाको व्यवस्थालाई बैंक तथा बित्तिय संस्थाहरुले प्रभावकारी रुपमा अवलम्बन नगरेको हुँदा कडाइका साथ लागू गर्दै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउन पनि महासंघले आग्रह गरेको छ।
कृषि तथा पशुपालन कर्जा जस्तै घरेलु तथा साना उद्योगहरुलाई एक करोड रुपैयाँसम्मको सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने तथा लघु, घरेलु तथा साना उद्योगहरुले लिएको कर्जाको बैंक र राष्ट्रिय सहकारी बैंकबाट पनि ६ महिनाको ब्याज छुट गर्नुपर्ने महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा छ।
महासंघको ध्यानाकर्षण पत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पछिल्लो समय आर्थिक विकासको आधार लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको भन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
‘वर्तमान अवस्थामा साना उद्योग मर्कामा परेका छन्। हामीले पनि महसुस गरेका छौं। यस्ता उद्योगलाई अहिलेको अवस्थामा हामी केही गर्न सक्छौं। व्यवसायीका सल्लाह सुझाबलाई समेटेर बढीभन्दा बढी के कस्तो सुविधा दिन सकिन्छ छलफल भइरहेको छ। आउने बजेटमा पनि समावेश गराउन मेरो पहल र प्रयत्न रहनेछ। राहतको प्याकेजमा समावेश गराउनेलगायतका विषयमा हामी छलफल गरिरहेका छौं’, मन्त्री भट्टले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।