समाजमा बस्नुको अर्थ एकअर्काको सुखदुखमा साथ दिनु पनि हो। आफ्नो देश छोडेकाहरूलाई एकअर्काको साथ अझ अझ धेरै खट्कने गर्छ। साथ पाएका बेला यसको मूल्य पनि धेरै बढी हुने रहेछ। तर विश्वभर तवाही मच्चाएको कोरोना भाइरसको विपद्ले सुखमा त परै जाओस् दुखमा पनि साथ हुने भावना बन्देज लगाएको छ।
सुखमा भन्दा दुःखमा साथ हुन नपाउँदा मन उकुसमुकुस हुने रहेछ। अदृश्य भाइरसको त्रासले जीवनको अन्तिम क्षणमा समेत साथ दिन सकिएको छैन। यस्तै भयो मेरो जीवनामा पनि, केही दिनअघि।
नेदरल्यान्ड आएर बस्न थालेपछि भाउजू हाम्रा लागि प्रिय बनिसक्नु भएको थियो। तर उहाँले दर्शाउने प्रियताको आयू पनि त्यति लामो रहेनछ।
रगतको नाता नभएपनि विदेशमा नेपाली जति सबै आफ्नै लाग्दा रहेछन्। सायद देश र परिवेशले मेरा लागि उहाँ अझ प्रिय बन्नु भएको थियो होला।
000
कोरोना भाइरसको संक्रमणपछि अस्पतालमा भाउजू उपचाररत हुनुहुन्थ्यो। विश्व नै लकडाउनको अवस्थामा चाहेर पनि अस्पताल गएर भेट्न वा घरमा गएर अन्य सदस्यसँग कुराकानी गर्न सम्भव थिएन।
हामी सबैले भाउजूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नै घरमा बस्नुको विकल्प थिएन। हामी यही प्रार्थनामा थियौं।
भाउजूलाई शीघ्रातिशीघ्र कोरोनामुक्त बनाउन सक्ने शक्ति प्रदान गरून् भन्ने हाम्रा प्रार्थना सायद भगवानले सुनेनन् होला। भाउजूले संसारबाट बिदा लिनुभयो।
000
बढी उमेर समूहका मानिसका लागि कोरोनाको संक्रमणका कारण ज्यानै जान सक्ने खतरा बढी हुन्छ भन्ने सुनिएको थियो। बाग्लुङकै एक जना वृद्धाले समेत कोरोना जितिसकेको र काठमाडौं सनसिटीकी ८१ वर्षीया हजुरामामा समेत कोरोनामुक्त भएको खबर सुनिसकेका हामी भाउजूलाई पूर्ण रूपमा निको हुन्छ भन्ने कुराबाहेक अरू कुनै पनि कुरा सोचेकै थिएनौं। भाउजूको उमेर त्यति पाको थिएन।
कोरोनाको संक्रमण जो कोहीलाई पनि हुन सक्छ। जतिसक्दो आफू सुरक्षित रहेमात्र अरूलाई पनि सुरक्षित राख्न सकिन्छ। लाउँलाखाउँला भन्ने उमेरमा नै कोरोनाले लुटेको भाउजूको जीवनका अन्तिम दिनमा समेत अस्पतालमा श्रीमान्, छोराछोरी कोही थिएनन्। नाबालक सन्तानले आफ्नी आमाको जीवनको अन्तिम क्षणमा मुख हेर्न त पाएनन्। मृत्यु भएपछि पनि पाएनन्।
भाइरसको संक्रमण फैलन सक्ने जोखिमका कारण भाउजूको शव परिवारलाई दिइएन।
000
कोभिड-१९ का कारण भाउजूले सदाका लागि चिरनिद्रा रोजिसक्नु भएको थियो। मनले तुरुन्तै दाइलाई भेट्न जा भन्यो। तर भय र त्रासका अगाडि लाचार बन्नुपर्ने भयो।
सहानुभुति र समवेदनाको लागि भौतिक रूपमा उपस्थित हुन त्रास थियो। दुखद् खबर थाहा हुँदा पहिलोको जस्तो भए घरमा मानिसको भीड भइसकेको हुनथ्यो। अहिले मानिस जम्मा हुन पाइँदैन।
अरुको के कुरा भयो। समयले यस्तो बनाएको थियो। सदाका लागि बिदा भएकी भाउजूलाई दाजुले समेत भिडियो क्यामेराबाट मात्र देख्न पाउनु भयो। अन्तिम क्षण एक घुट्की पानीसमेत पिलाउन पाउनु भएन।
त्यो पल शब्दमा लेख्न सकिन्न। मनमा फुटेको भक्कानो र अचानक आइपरेको विपद्को दर्दनाक अवस्था।
000
विश्वको अति व्यस्तमध्येको एक नेदरल्यान्डको सिपोल एयरपोर्टमा चहलपहल सकिएको छ। यति बेला यहाँको आकाशमा विरलै जहाज देखिन्छन्। ती धेरैजसो जहाज पनि विगत जस्तो मानिसले भरिभारउ छैनन्। कार्गोका जहाज सामानले मात्र भरिएका छन्। मर्दापर्दा सयौंको संख्यामा उपस्थित हुने नेपाली डायस्पोरा सिपोल एअरपोर्टजस्तै सुनसान भयो। केही भएकै छैन जसरी। समयले कसरी मानिसलाई बसमा पारेर राख्छ, साह्रै तीतो अनुभव हुँदै थियो।
२ जना नाबालकले आमा गुमाएका छन्। अति नजिकका छिमेकी घर बाहिरसम्म पुगे। परिवारका अन्य व्यक्ति संक्रमित थिएनन् तर त्रासको अगाडि सबै लाचार थिए।
साँझको ८ बजेको थियो। एकजना दाइको फोन आयो। एक पटक त भेट्न जाउ भन्ने कुरा गर्नुभयो। म पनि तत्कालै तयार भएँ। जति पीडा भाउजूको देहान्तको खबर सुन्दा भएको थियो त्यति नै त्रास उहाँको परिवार भेट्न जाने बेला पनि भयो। सायद अरुलाई त्यसै भएको हुनुपर्छ।
तर हाम्रो त्रासभन्दा पीडा बढी भएको थियो सायद। हामी उहाँको परिवारलाई भेट्न नगई बस्न सकेनौं। हामी तीनजना भेटघाटको लागि गएका थियौं। ढोकाको घन्टी कस्ले बजाउने? ह्यान्डिल कस्ले समाएर खोल्ने? कुर्चीमा कसरी बस्दा हामीमा पनि मुखामुख भयो। अनेक तर्कना मनमा आइरहेका थिए।
त्यहाँ पुग्दाको शोकपूर्ण वातावरणको पीडा मैले लेख्न सकिरहेको छैन। अबोध बालकको मातृत्व चुँडालिएको थियो। उनीहरुका आँखाको जिज्ञासा मात्रै महसुस गर्न सकिन्छ शब्दमा व्यक्त गर्न सकिन्न।
दिवंगत भाउजुका मायालु श्रीमान अर्थात् दाइका अगाडि पहाड टुटेको थियो। बज्रपातले एकपलमै सबै भताभुङ्ग बनाइदिएको थियो। दाइले चियाका लागि अफर गर्नुभयो। सबैले पर्दैन भनेर टार्न खोज्यौं। त्यहाँ पनि त्रास अगाडि आएको थियो। दाइलाई भेट्न आएका भन्ने एउटा 'इथिक'ले छोडेन। हामीले चिया स्वीकार गर्नुको विकल्प देखेनौं।
कुराकानीकै क्रममा स्वभाविक भाउजूको मृत्युको प्रसंग निस्कियो। स्वास्थ्य ठिकै थियो। संक्रमण पोजेटिभ देखिएपछि पनि स्वास्थ्य सामान्य थियो। त्यति नाजुक नभएको भन्ने परिवारको कुरा थियो। पछि श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो। भेन्टिलेटरसहितको आइसियूमा राखियो। रगतबाट अक्सिजन दिइएको थियो।
अत्याधुनिक प्रविधिबाट उपचार गराइएकाले निको हुने आशा हामी सबैमा थियो। परिवारमा पनि थियो। तर, नतिजा पीडादायी भयो।
फोक्सोले काम नगरेको र फोक्सोबाट हावा लिक भएका कारण रगतमा अक्सिजन नपुगेको समस्याले बिरामीको मृत्यु भएको चिकित्सकले बताएका थिए। सामान्य व्यक्ति निको भएर घर नआई सदाका लागि बिदा भएको विश्वास गर्न निकै गाह्रो थियो।
अस्पताल भर्ना भएपछि परिवारमा फोन भइरहन्थ्यो। एक दिन भाउजूले फोन गरेको सम्झँदै दाइले भन्नुभयो, ‘बाबा मलाई अति विशिष्ट सेवा दिँदै छ। म पछि फोन गर्छु है भन्दै फोन राखिन्। के थाहा नै अन्तिम फोन भन्ने। त्यो नै उनको अन्तिम बोली थियो। त्यस पछि उनि अलप भइन् सदाका लागि …।’
दाजुका शब्दले वातावरण फेरि एकपटक वातावरण कारुणिक बन्यो। दाजुको गला अवरुद्ध भयो।
भाउजूले भन्नुपर्ने कति कुरा थिए होलान्। छोराछोरी श्रीमानलाई जीवनको अन्तिम क्षणमा देख्ने मन थियो होला। तर समय कठोर भएर उभिएको थियो। मानिस समयका अघि लाचार र विवश मात्र थिए।
जोखिमका कारण परिवारले मृतकको व्यवस्थापन परिवारले गर्न पाएन। सोही समयमा मनमा अनेक कुरा खेलिरहेका थिए। मनमनै सोचेँ- नेपालमा महामारी फैलियो भने के हालत होला?
हामी शोकाकुल परिवारलाई भेट्न पुगेकोले परिवारबाट पटकपटक फोन आइरहेको थियो। त्रासका कारण स्वाभाविक पनि थियो।
हामी हिँड्नुपर्ने थियो। अन्य समयमा भए पालो दिने, बस्ने कुरा हुन्थ्यो। तर, महामारी र संक्रमणको आतंकले जरो गाडेको थियो। हामी विवश थियौं। घरपरिवार र सबैका ससाना छोराछोरी भएकाले पनि जोखिम लिन गाह्रो थियो।
कोभिडको कारण संसार आक्रान्त छ। युरोपेली देशहरुमा रहेको लकडाउनका कारण दैनिक जीवनचर्या नै ठप्पजस्तै छ। प्राय कामहरु बन्द छन्। सबै मानिसहरु घरमा नै बन्द छन् ।
समय बित्दै जाला। हामीमा परेको गहिरो घाउ पुरिँदै जाला। तर विवश ती बालकको मातृ वात्सल्य फर्केर आउने छैन। हामीलाई ग्लानी भइरहने छ।
प्रिय भाउजूको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली भन्नुभन्दा बढी केही बाँकी रहेन। परिवार शोकलाई शक्तिमा बदल्ने कामनाको लागि भगवानसँग प्रार्थना।
(लेखक नेदरल्यान्डको राजधानी एम्स्टरडममा बस्छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।