एजेन्सी- बबलिउड अभिनेता ऋषि कपुर व्यावसायिक दैनिकीलाई जति महत्व दिन्थे पारिवारिक जीवनमा पनि उत्तिकै रमाउथे। भारतीय फिल्म उद्योगमा कपुर परिवारको आफ्नै विरासत बनेको थियो। उनी व्यावसायिक जीवनमा जति व्यस्त भए पनि पारिवारिक जमघट भनेपछि हुरुक्कै हुन्थे।
आफ्ना बाबु राज कपुर र आमा कृष्णा राज कपुरसँग होस् या श्रीमती नीतु र छोराछोरीसँग रणवीर र रिद्धिमाका लागि होस्‚ उनी समय निकाल्थे नै। उनी आफ्ना बाबु राज कपुरसँग निक्कै नजिक थिए।
आमासँग उनी निक्कै निकट थिए। तर जब उनको आमाको मृत्यु भयो उनी दाहसंस्कारमा सहभागी हुन पाएनन्। उनी आफैं बिरामी भएर उपचाररत थिए।
नयाँ वर्षको माहौल होस् या क्रिसमस‚ उनी परिवारसँगै देखिन्थे।
दाजु रणधीर कपुरसँग उनको केमिष्ट्री धेरै मिल्थ्यो। उनीहरु निक्कै निकट पनि थिए। सम्बन्धमा दाजुभाइ भए पनि उनीहरु असल मित्र झैं थिए।
उनी मनमा लागेकाे कुरा प्याट्ट भनिहाल्ने स्वभावका थिए। यो स्वभावका कारण आफू निकटहरुसँग बेलाबखत विवाद भइरहन्थ्यो। फिल्म निर्माता राकेश रोशनसँग उनी निकट थिए। तर एक फिल्मको विषयमा दुवैबीच विवाद हुँदा केही समय दुवैको सम्बन्धमा चिसोपना बढेको थियो।
उनलाई फिल्म क्षेत्रमा त्यति सक्रिय नभएको बेलामा राकेशले फिल्म 'कोई मिल गया' मा रोहित मेहराको बाबुको भूमिकामा अभिनय गर्न प्रस्ताव गरेका थिए। तर उनले स्वीकार गरेनन्। यो कुरा राकेशलाई मन परेन। उनले ऋषीलाई अब बलिउडमा तिम्रो भविष्य छैन भनिदिए। ऋषीलाई पनि यो कुरा मन परेन।
सन् २००३ बाट उनले फेरि बलिउडमा फर्कन मिहेनत सुरु गरे। त्यसपछि आएका फिल्ममा उनले दमदार अभिनय देखाएर राकेशको निष्कर्ष गलत रहेको प्रमाणित गरिदिए।
सामाजिक सञ्जालमा समेत उनी निक्कै सक्रिय थिए र आफ्ना भनाइका कारण बेलाबखत विवादमा समेत आइरहन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।