एजेन्सी- कोरोना भाइरस संक्रमण नियन्त्रणको गति सकारात्मक भएसँगै न्युजिल्याण्डले लकडाउनलाई खुकुलो बनाउँदै कफीसप र फास्टफुड रेष्टुरेन्ट खोल्ने अनुमति दियो। यो अनुमति आएको सूचना बाहिरिएसँगै न्युजिल्यान्डवासी कफीसप र म्याकडोनल्ड अगाडि लाइन लाग्न पुगिहाले।
पाँच हप्ताको लकडाउनपछि न्युजल्याण्डले लकडाउनको कडाइ केही खुकुलो बनाएको हो। पाँच हप्तापछि कफीको स्वाद लिन पाउँदा स्थानीयहरु निक्कै खुसी भएको र दैनिकी सामान्यतर्फ फर्किएको अनुभव भएको प्रतिक्रिया दिएको बिबिसीले लेखेको छ।
न्युजल्याण्डमा एक हजार एक सय २४ कोरोना संक्रमित पुष्टि भएको थियो भने १९ जनाले ज्यान गुमाएका थिए। नयाँ संक्रमितको संख्या १० भन्दा कमै देखिन थालेपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको थियो।
विज्ञहरुले भने तत्काल उत्साहित भएर कफीसप र फास्टफुड रेस्टुरेन्ट अगाडि भेला नहुन चेतावनी दिएका छन्। अहिलेको अवस्थामा तत्काल उत्साहित भएर सामाजिक दुरी अवज्ञा नगर्न आग्रह गर्दै विज्ञहरुले कोरोना भाइरसको जोखिम केही कम भए पनि हटी नसकेको बताए।
विज्ञहरुले अझै केही समय घरमै बसेर काम गर्न र सार्वजनिकस्थलमा भिडभाड नगर्न आग्रह गरिरहेका छन्। न्युजिल्यान्डले सामाजिक दुरी कायम गर्ने सर्त सहित विद्यालय खोल्ने अनुमति दिएको छ। तर उसले सर्वसाधारण भेला हुने सार्वजनिक स्थलहरु भने अझै खुलाएको छैन।
कोरोना भाइरसको संक्रमण देखिए लगत्तै न्युजिल्यान्डले आवागमनमा कडाई शुरु गरेको थियो। उसले १९ मार्चबाटै आवतजावतमा कडाइ शुरु गर्यो। उसले शंका लागेमाथिको परिक्षण गति तत्काल बढायो।
संक्रमितको सम्पर्कमा देखिएकालाई ४८ घन्टाभित्र सम्पर्कमा ल्याएर परिक्षण गर्यो। जसले कोरोना संक्रमणले भयावह रुप लिन पाएन र न्युजिल्यान्डवासी कफी खान बजारमा निस्कन पाउने भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।