धनगढी- लकडाउनका कारण देशका धेरै योजनाहरु प्राय ठप्प छन्। सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि ठूला तथा साना योजनाहरुको काम प्रभावित भएको हाे।
लकडाउनले रोकिएका योजनाका काम कामदारको सुरक्षालाई ध्यानमा राख्दै सञ्चालनमा ल्याउने संघीय तथा प्रदेश सरकारले निर्णय गरेपछि कैलालीमा निर्माण कम्पनीहरुले योजनाको काम अघि बढाउने तयारी गरेका छन्। स्थानीय प्रशासनको अनुमतिमा याेजनाकाे काम अघि बढाउने तयारी भएकाे हाे।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिले निर्माण कम्पनीहरुले अनुमति लिनका लागि निवेदन पेश गरिरहेको बताए। उनका अनुसार कैलाली प्रशासनबाट मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना र कैलालीको धनगढी तथा कञ्चनपुरको रैकवारविचवा जोड्ने पुल आयोजनालाई अनुमति दिइसकिएको छ। उनले भने, ‘सुरक्षाका मापदण्ड अपनाएर दुई आयोजनाका काम अघि बढीसकेका छन्।’
उनले प्रशासनमा अन्य पाँच आयोजनाहरुले अनुमतिका लागि निवेदन पेश गरेकाे जनाकारी दिए। सरकारले महत्वपूर्ण योजनाहरु सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिइएको हाे। उनले मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराई कोरोना संक्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको बताए।
उनले भने, ‘आयोजना सञ्चालनका लागि सुरक्षाका मापदण्डहरु बनाइएको छ।’ मजदुरहरुले सरसफाइमा ध्यान दिनुपर्ने, मुखमा मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, नियमित स्वास्थ्य चेकजाँच गरिनुपर्ने, आयोजना स्थलमा भौतिक दूरी कायम गर्नुपर्ने, मजदुरहरु बिरामी भए तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने लगायतका मापदण्ड रहेका छन्।
योजनाको काममा कुनै पनि बाधा अवरोध भएमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर निर्माणका लागि आवश्यक पर्ने सहयोग गरिरहेकाे प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए। उनले योजनाको अवस्था, भौतिक प्रगति लगायतको अवस्थाका आधारमा सञ्चालनको अनुमति दिइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।