काठमाडौ– काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका अतिविपन्नलाई राहत दिन भन्दै वडा कार्यालयहरुबाट तथ्याक संकलन गरेपछि नाम लेखाउनेहरुको भीड बढेको छ।
कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सामाजिक दूरी कायम गर्न भनेपनि मानिसहरु बेपर्वाहका साथ राहतका लागि लाम लागेका छन्। कम्तीमा ३ मिटर दुरी कायम गर्ने विश्व स्वास्थ्य संगठनको नियमलाई समेत उल्लंघन गरिएको छ।
महानगरले राहत दिन थालेपछि विपन्न मात्र नभई घर भएका र हुने खाने पनि आउन थालेकाले वडाहरुले विवरण संकलन थालेका हुन्। महानगरले सवै वडाबाट विवरण संकलन थालेको हो।
काठमाडौ महानगरको वडा नम्वर ७ मा बुधबार बिहानैदेखि मानिसहरु नाम लेखाउन लाइन लागेका देखिए। मंगलवार वडाले वितरण गरेको राहत सबैले लगेपछि वडाले विवरण संकलन थालेको हो।
राहत वितरण सोचेजस्तो विपन्नका लागि नभएपछि अहिले नाम लेखाउने काम थालेको वडाध्यक्ष शुद्धकुमार डंगोलले बताए।
‘खान नपाउनेलाई दिने भनेको हो तर बाइक चढेर आउनेहरुले राहत लिएर जाने थालेपछ विवरण संकलन गर्न थालेका छौं,’ उनले भने।
करिब ८०० मानिस दर्ता भएको वडा कार्यालयले जनाएको छ। राहत बाँड्न स्वयंसेवक दस्ता बनाएर टोल टोलमा पठाएको तर मानिसहरु टोलमा पनि जाने र वडामा पनि आउने गरेपछि विवरण संकलनतर्फ लागेको वडा कार्यालयको दावी छ। अहिले नागरिकताका आधारमा नाम दर्ता गर्ने अनि नागरिकता फोटोकपि लिँदै पछि टोलमा राहत दिने उनले बताए। १७ हजार घरधुरी रहेको उक्त वडामा अति विपन्न पहिचान गरेर राहत दिने वडा कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।