एजेन्सी–उनी रिसाइरहेका थिए, झोक्किरहेका थिए। किनकि उनलाई चिकित्सकले आइसियुमा राखेका थिए। ९० वर्षका श्रीमान् अनि ८८ वर्षकी श्रीमती। दुवै कोरोना भाइरसको संक्रमणमा परेर अस्पतालमा उपचाररत छन्। रिसाउनुको कारण दुवैलाई अलग–अलग कोठामा राखिएको थियो।
खोज्दै जाँदा चिकित्सकले दुई वटा कोठा फेला पारे जुन सिसाले मात्र अलग गरिएको थियो। दुवै जना अलग–अलग कोठामा बसे पनि सिसाबाट एक अर्कालाई हेर्न सक्थे। त्यसपछि दुवै खुसी भए।
कोरोना भाइरस संक्रमण ६० वर्ष उमेर पार गरेकाहरुको हकमा अलि जोखिमपूर्ण मानिन्छ। यी दुवै त ८० पार गरेका थिए। दुवै इटाली गएर फर्किएका थिए। अनि विमानस्थलको स्क्रिनिङमा पनि परेका थिएनन्।
त्यसैले एक टोली नै खटिएर यी दुवैको खोजी गरेको थियो। दुवै जना भेटिएलगत्तै अस्पताल लगेर जाँचगर्दा कोरोना भाइरसको संक्रमण देखियो र उपचारका लागि अस्पतालमा भर्ना गरियो। उपचारकै क्रममा बेलाबखत दुवैको स्वास्थ्य बिग्रिएपछि आइसियुमा राखेर उपचार गरिएको थियो।
तीन हप्ता अगाडि कोट्ठयम मेडिकल कलेज अस्पतालमा भर्ना गरिएका यी दुवैको स्वास्थ्यमा अहिले सुधार भइसकेको छ, दुवै कोरोना भाइरसमुक्त छन्। अस्पतालका चिकित्सक डा आरपी रेनजिनका अनुसार करिब २० दिनको उपचारमा दुवैजना भाइरसमुक्त भए पनि जोखिममुक्त भने भएका छैनन्। उपचारपछि निको भएकाहरुमा फेरि कोरोना संक्रमण देखिएको छ।
त्यसैले चिकित्सकहरु उनीहरुलाई डिस्चार्ज गर्न राजी भए पनि १४ दिन आइसोलेसनमा बसाउने योजनामा छन्। त्यसैमा बानी पार्न उनीहरुले दुबै जनाको अस्पताल बसाई केही लम्ब्याएका छन्।
डा रेनजिनले बिबिसी हिन्दीलाई भने–खाली मेडिकल कारणले मात्र हामीले दुवै जनालाई अस्पतालमा राखेका हौं। उहाँहरु एक घण्टाको बाटो पार गरेर घर पुग्नुपर्ने छ। त्योभन्दा अगाडि हामी दुवै जनाले १४ दिन कसैसँग नभेटुन् भन्ने चाहन्छौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।