नयाँ दिल्ली- भारतकाे दिल्लीस्थित निजामुद्दीनमा आयोजना भएको मुस्लिमहरुको धार्मिक सभामा सहभागी भएका २४ व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएकाे छ। मंगलबार दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले यसको पुष्टि गरेका हुन्।
यही विषयलाई लिएर दिल्ली राज्य सरकारको आपतकालीन बैठक बसेको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले सभामा भेला भएका सबैको विवरण खोजीका लागि निर्णय गर्न बैठक बोलाएका हुन्। २४ मार्चमा प्रहरीले हजरत निजामुद्दीनलाई उक्त सभा रोक्न माग गर्दै नोटिस पठाएको थियो। प्रहरीलाई सभा रोकिएको र पछिल्लो दिनमा १५०० मानिस फर्किएको जवाफ दिइएको थियो। तर, यसपछि पनि उक्त सभामा विभिन्न राज्यका एक हजार आगन्तुक त्यहाँ बसेका थिए।
उनीहरुले त्यहाँ रहेका मानिसहरुलाई घर पठाउन सवारी साधनको पास उपलब्ध गराउन माग गरेका थिए। स्वास्थ्यमन्त्री जैनले उक्त सभामा १५०० देखि १७०० सम्म मानिस भेला भएको हुनसक्ने आँकलन गरेका छन्। त्यहाँबाट निस्केका १०३३ व्यक्तिमध्ये ३३४ जना अस्पताल भर्ना भएका छन् भने ७०० व्यक्ति क्वारेन्टाइनमा पुगेका छन्। उनीहरुको पनि टेष्ट चलिरहेको छ। हालसम्म २४ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको छ।
जैनले आयोजकले ठूलो अपराध गरेको टिप्पणी गरेका छन्। भारतमा महामारी एक्ट लागू गरिएको छ। जैन आफैंले यो धार्मिक सभामा आयोजकमाथि कारवाहीका लागि पत्र लेखेका छन्। दिल्ली सरकारका तर्फबाट पनि एफआइआर दर्ता गराउने निर्देशन दिइएको थियो।
६ जनाको मृत्यु
यो धार्मिक सभामा भाग लिएका ६ जनाकाे कोरोना भाइरसका कारण मृत्यु भएको छ। उनीहरुले १३ मार्चदेखि १५ मार्चसम्म उक्त धार्मिक सभामा भाग लिएका थिए।
‘दिल्लीको निजामुद्दीन क्षेत्रको मरकजमा १३ मार्चदेखि १५ मार्चसम्म भएको धार्मिक सभामा भाग लिएका मानिसमा कोरोना भाइरस फैलिएको छ,’ तेलंगना सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सभामा राज्यका मानिस पनि सहभागी भएको पाइएको छ।’
असममा खोजी सुरु
यो धार्मिक सभामा सहभागी भएका मानिसहरुकाे खोजी राज्य सरकारले थालेका छन्। असमले उक्त सभामा सहभागी भएका मानिसलाई नजिकैको अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।
असम भारतीय जनता पार्टीका नेता विश्वा शर्माले दिल्लीको निजामुद्दीन मरकज भवनको समारोहमा भाग लिएका असमका सबै व्यक्तिलाई अस्पतालमा अनिवार्य सम्पर्क गर्न राज्य सरकारका तर्फबाट आग्रह गरिएको बताए। साथै उनीहरुको सहयोगका लागि १०४ नम्बरको हेल्प लाइन पनि सञ्चालनमा राज्य सरकारले ल्याएको छ।
मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले ट्विट गर्दै दिल्लीको निजामुद्दीन भवनमा भएको सभामा गएका कोही व्यक्ति भए तत्काल सूचना दिन भनेका छन्।
उक्त भवनमा मेडिकल टिम र प्रहरी तैथान गरिएको छ। यो महिनामा सुरु भएको धार्मिक सभामा २५०० सय व्यक्ति सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।