एजेन्सी- अचेल ९/११ को स्मारकमा नयाँ फूल देखिएको छैन। अमेरिकामा यो एउटामात्र यस्तो क्षेत्र थियो‚ जहाँ सधैं ताजा गुलाबका फूल ढकमक्क सजिएको देखिने गर्थ्यो।
अमेरिकास्थित न्यूयोर्क सहरको चहल पहल हुने क्षेत्र ‘ब्रोडवे’‚ जुन ठाउँ अहिले सुनसान भएको छ। यस्तो ठाउँको चर्चित रेल स्टेसन अहिले भूतघरजस्तो देखिएको छ। संसारभर चर्चित न्यूयोर्कको म्यनहट्टन क्षेत्रबाट स्टेटेन आइल्याण्ड जाने पानीजहाज‚ स्ट्याचु अफ लिबर्टीको नजिक भएर अझै पनि बगिरहेका देखिन्छन्।
नजिकबाट नियाल्ने हो भने त्यहाँ कुनै मानिहरू देखिदैनन्। कुनै समय मानिसहरूले भरिभराउ हुने ती ठूला जहाजलाई रित्तो देख्दा यस्तो लाग्छ‚ मानौं यो संसारमा अब कोही बाँकी छैन।
पृथ्वीभरी लगभग सबैतिर ढाकिसकेको कोरोना भाइरसको महामारीले यस्तो बनाइदियो कि आज कोही पनि कुनै चौकुनामा बसेर तीता-मिठा पल सम्झन इच्छुक छैनन्।
विश्वभरमा न्यूयोर्क सहर एउटा त्यस्तो उर्जावान सहर थियो‚ जसले संसारलाई ‘म कहिले निदाएको छैन’ भन्ने सन्देश दिइरहन्थ्यो। त्यही सहर आज कुम्भकर्णी निद्रामा निदाउन बाध्य भयो।
आज न्यूयोर्क सहरमा कोरोनाका संक्रमित यति छन् कि अमेरिकाको अन्य सबै प्रान्तका संक्रमितसँग तुलना गर्ने हो भने पनि न्यूयोर्क सहरका संक्रमित जति पुग्दैनन्। न्यूयोर्क सहरले फेरि एकपटक ‘ग्राउन्ड जेरो’ को उपाधी पाएको छ। यो यस्तो उपाधी हो जोसँग न्यूयोर्कमा बस्ने जोकोही बँच्न चाहन्थ्यो।
जस्तो संकटको समयमा मान्छेले मान्छे चिन्छ‚ ठीक त्यसैगरी सामुन्ने ठिङ्ग उभिएको चुनौतीलाई देखेर सबै नतमस्तक भइरहेका छन्। यस्तो संकटको घडी अगाडि हुँदा कुन देशले के गर्न सक्छ सबैले अन्दाज लगाउन त सक्छन् नै। उनीहरूको शक्तिको परीक्षा पनि यस्तैबेला हुनेगर्छ।
डोनाल्ड ट्रम्पबाट यही आश थियो?
आज अमेरिका एक राष्ट्रव्यापी मात्र होइन‚ विश्वव्यापी संकटको सामना गरिरहेको छ। यस्तो बेलामा हामीले अमेरिकालाई कसरी हेर्ने?
के अमेरिकी सत्ताको केन्द्र‚ क्यापिटल हिलमा बसेका सांसदले यो चुनौतीको सामना गर्न सक्छन्? यी अमेरिकी सांसद तिनै हुन्‚ जो वर्षौंदेखि संसदमा दाउपेचको जालोमा अल्झिरहेका छन्।
यस्तोमा उनीहरू यस्तो महामारीबाट पैदा हुने चुनौतीसँग जुध्नका लागि कतिसम्म एकजुट हुनका लागि तयार छन् त?
अमेरिकी राष्ट्रपतिले यसलाई लिएर दिने प्रतिक्रिया हामीले सोचेअनुरुप नै हुनपुग्यो। ट्रम्पमा कुनै किसिमको परिवर्तन आएन। ट्रम्प अझै पनि समझदार हुन सकेका छैनन्। उनमा आफ्नो गल्ती स्वीकार्न सक्ने सामर्थ्य छैन। उनमा अझै पनि विनम्रताको सानो लेशमात्र पनि आएको छैन।
ट्रम्पले यो संकटका लागि आफूले चालेको कदमलाई आफैंले १० मा १० नम्बर दिएका छन्। राजनीतिसँग कुनै सम्बन्ध नराख्ने यो भाइरसको संक्रमणबाट उब्जिएको संकटलाई पनि उनले राजनीतिकरण गरेका छन्।
सेन्टर्स फर डिजिज् कन्ट्रोल (सिडिसी) मा जाँदा राष्ट्रपति ट्रम्पले चुनावको प्रसारको लागि लगाएको टोपी लगाएर गएका थिए‚ जसमा मोटा अक्षरमा लेखिएको थियो- ‘मेक अमेरिका ग्रेट...’ अर्थात अमेरिकालाई महान् बनाऔं। यसबाट पनि थाहा हुन्छ ट्रम्पको प्रशंसामोह।
साँचो कुरालाई पनि बङ्ग्याएर भन्न सिपालु ट्रम्पको तौरतरिका सबैको मष्तिस्क हल्लाउने किसिमको हुन्छ। ट्रम्पले यो संकटको अनुमान पहिलेदेखि नै थियो भनेका छन्‚ तर‚ संक्रमण फैलिएको हप्तौं बितिसक्दा पनि उनले यस्तो खतरनाक संक्रमणलाई सानोतिनो संक्रमणको संज्ञा दिन छाडेका छैनन्।
अर्काको मजाक बनाउने नेता
फेरि‚ ट्रम्पले उनको लापरवाहीमा प्रश्न उठाउने मिडियालाई ‘फेक न्यूज मिडिया’को संज्ञा दिएर सधैं झैं फेरि एकपटक पहिलाको जस्तै व्यवहार देखाए।
ह्वाइटहाउसका एक संवाददाताले‚ ‘कोरोना भाइरसको संक्रमणदेखि डराएका अमेरिकीलाई तपाईंको सन्देश के छ?’ भनी सोधिएको प्रश्नमा ट्रम्पले ‘तल्लोस्तरको संवाददाता’ भन्दै प्रश्नकर्तामाथि अपहेलना गरेका थिए। त्योबेला ट्रम्पको असलीपन फेरि उजागर भयो।
त्यसपछि पनि सिनेटर मिट रोमनीले आफैं आइसोलेसनमा जाने भनी गरेको निर्णयलाई लिएर उनले मजाक उडाएका थिए। मिट रोमनी एकमात्र यस्ता रिपब्लिकन सिनेटर थिए‚ जसले ट्रम्पको विरुद्धमा लगाइएको महाअभियोगमा ट्रम्पलाई पदमूक्त गराउनका लागि भोट गरेका थिए।
जसले यो भाइरसको संक्रमणलाई अघि बढेर नियन्त्रण गर्नका लागि सधैं लागिरहे‚ उनीहरूलाई ट्रम्पले सँधै कुनै कुनै किसिमले आरोप लगाइरहे‚ मजाक उडाइरहे। प्रचारको चक्करमा ट्रम्प जे पनि बोल्दिन्छन्।
कोरोना भाइरसको सन्दर्भमा उनले‚ ‘हाइड्रोक्सी क्लोरोक्वीन र एजिथ्रोमाइसिन’ लाई मिलाएर हामीले औषधिको इतिहासमा गेम चेन्जरको भूमिका निभाएका छौं।’ भनेका थिए। तर‚ त्यही समयमा यता डाक्टरहरूले यस्ता किसिमका अफवाहका पछि नलाग्नका लागि सर्वसाधारणलाई अपिल गरिरहेका थिए।
ट्रम्पको प्रशंसामोह
नागरिकको दुःख‚ कष्टका विषयलाई ट्रम्पले कहिले पनि मनमा लिएनन्‚ अझ भनौं‚ त्यस्ता विषयबाट दुःखी भएनन्। जसले आफ्ना आफन्त गुमाएका छन्‚ उनीहरूलाई ढाडस दिनुको सट्टा‚ संकटको समाना गरिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गर्नुको सट्टा ट्रम्प ह्वाइट हाउसमा बोल्नका लागि अगाडि स्टेजमा पुग्नासाथ आफ्नै प्रशंसाबाट भाषणको सुरुवात गरिरहेका हुन्छन्।
जब ट्रम्पले आफ्नो भाषण सक्छन् र बोल्नका लागि उपराष्ट्रपति माइक पेन्स अगाडि आउँछन् अनि फेरि ट्रम्पको यसरी प्रशंसा गर्छन्‚ मानौं पेन्स दरवारी कवि हुन्‚ जसले राजाको प्रशंसामा कविता रच्नका लागि विद्यावारिधी गरेको छ।
ट्रम्पको ह्वाइट हाउसमा हुने प्रेस कन्फ्रेन्सलाई देख्दा यस्तो लाग्छ कि मानिस अमेरकामा होइन‚ उत्तर कोरियामा छन्‚ जहाँ तानाशाहको चापलुसी अनिवार्य रुपमा गर्नैपर्ने हुन्छ। यी सबै घटना देख्दा सहजै अनुमान लगाउन सकिन्छ‚ ट्रम्पको आत्ममुग्धतालाई बुझाउन असम्भवप्रायः छ।
यतिमात्रै होइन‚ अन्य देशका नागरिकप्रति पनि ट्रम्पमा धेरै नै घृणा भरिएको छ। यो घृणा ट्रम्पको राजनीतिक यात्राको एक हिस्सा नै बनिसकेको छ। उनी पटक पटक कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनिरहन्छन्। ठिक यसैगरी सन् २०१६ को चुनावको प्रचारको समयमा अमेरिकाको औद्योगिक साम्राज्य ध्वस्त हुनुमा चीन र मेक्सिकोका आप्रवासीको हात रहेको बताउँदै आएका थिए।
ठिक यसैगरी कोरोना भाइरसको प्रकोपका लागि अमेरिकाले चीनलाई दोषी ठहर्याइरहेको छ ‚ ताकी उनी फेरि यसको फाइदा उठाएर दोस्रोपटक राष्ट्रपतिको चुनाव जित्न सफल होउन्। उनको शासन जहिले पनि वर्तमानका लागि मात्र भएको छ।
उनको कुनैपनि कदमले दीर्घकालीन बाटो समातेको देखिँदैन। सार्वजनिक स्वास्थ्यमाथि आइपरेको यत्रो ठूलो चुनौती र आर्थिक संकटसँग जुध्न सक्ने क्षमता ट्रम्पको प्रशासनमा रहेको देखिँदैन। डोनाल्ड ट्रम्पको शासनकाल सधैं नै आफ्नो मनमा लागेका काम र कुरा गर्नका लागि मात्र भएको जस्तो देखिएको छ।
अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमण विश्वकै लागि एक संकटकाल हो‚ यस्तो बेलामा केवल ट्वीट गरेरमात्र समस्याको समाधान हुँदैन भनेर धेरै विशेषज्ञहरूले भनिसकेका छन्।
यस्तो खतरनाक संक्रमणलाई केवल प्रचारको बलमा नियन्त्रण गर्न सकिँदैन। दिनप्रतिदिन अमेरिकी नागरिकको मृत्यु भइरहेको तथ्याङ्कबाट कोही पनि मुख लुकाएर बस्न सक्दैनन्।
दुई ध्रुवमा बाँढिएको अमेरिकी समाज
अहिलेको कुरा गर्ने हो भने अमेरिकी समाज दुई ध्रुवमा बाँडिएको छ। आज पनि रिपब्लिक पार्टीका समर्थक कोरोना भाइरसको संक्रमणको बारेमा जतिपनि तथ्याङ्क बाहिर आएका छन् ती सबै अफवाह हुन् भन्ने ठान्छन्। उनीहरूका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जे भन्यो त्यही नै सत्य हुन्छ।
त्यसैगरी डेमोक्र्याटिक पार्टीका समर्थकहरूले ट्रम्पको कुनै पनि कुरामाथि विश्वासको नजरले हेर्दैनन्। तर‚ डेमोक्र्याटिक पार्टीमै पनि ८ प्रतिशत यस्ता समर्थक छन् जो ट्रम्पको बोलीमा विश्वास गर्छन्।
जब सेन्टर्स फर डिजिज् कन्ट्रोल (सिडिसी)ले २१.४ करोड अमेरिकी नागरिक कोरोना भाइरसबाट संक्रमित हुनसक्ने आँकलन सार्वजनिक गर्यो। त्यसबेला दक्षिणपन्थी वेबसाइट ‘द फेडरलिस्ट’का संस्थापक सन डेभिसले एक ट्वीट गर्दै‚ ‘मिडियाहरू अमेरिकालाई घृणा गर्छन्। जबसम्म आफूले समर्थन गरेको पार्टी सत्तामा पुग्दैन तबसम्म विरोध आइरहन्छ किनकी अमेरिकाको विरोध गर्ने सबै मिडियाकर्मीहरू कम्युनिस्ट देशको इशारामा चलेका छन्‚ जहाँबाट कोरोना संकट सुरु भयो’ भनेका थिए।
कस्तो छ ट्रम्पको लोकप्रियता?
आज कोरोना भाइरसको यो संकटको अगाडि अमेरिका कसरी बाँडिएको छ भन्ने कुराको तथ्यांक ग्यालोप पोलले सार्वजनिक गरेको छ। यसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार‚ रिपब्लिकन पार्टीको ९४ प्रतिशत समर्थक यो संकटबाट मुक्ति पाउनका लागि ट्रम्प प्रशासनले जे गरिरहेको छ‚ त्यसमा पूर्ण सन्तुष्ट छन्।
त्यसमा केही डेमोक्र्याट समर्थकलाई मात्र ट्रम्पको कुरामा विश्वास छ। तर सबैलाई मिलाएर भन्ने हो भने कूल १० मध्ये ६ जना ट्रम्पको पक्षमा उभिएका छन्। जसले गर्दा आज पनि ट्रम्पको लोकप्रियताको रेटिङ ४९ प्रतिशत छ।
यो उनको शासनकालकै उच्चतम रेटिङसरह हो। जुनसुकै होस्‚ राष्ट्रव्यापी संकट यदि अगाडि छ भने सबै नागरिक राष्ट्रपतिकै पक्षमा हुन्छन्। यसभन्दा अघि पनि ११ सेप्टेम्बरमा भएको अमेरिकी हमलापछि जर्ज डब्ल्यू बुसको लोकप्रियताको रेटिङ ९० प्रतिशतभन्दा पनि माथि थियो।
‘ब्लू अमेरिका’ अर्थात डेमोक्रेटिक पार्टीका समर्थकहरूलाई ट्रम्पको सरकारभन्दा ज्यादा आफ्ना-आफ्नै प्रान्तका सरकारको बढी विश्वास छ।
दूतको उदय
यो संकटको समयमा अमेरिकी उदारवादीका लागि डाक्टर एन्थोनी फोची एक यस्ता दूत हुन्‚ जसले ट्रम्प प्रशासनको सत्तालाई समेत चुनौती दिइरहेका छन्। डा फोची‚ नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेजका निर्देशक हुन्।
उनी पोस्ट ट्रुथको समय ट्रम्प शासनकालमै कोरोना भाइरसको भ्याक्सिनको निर्माणकार्यमा संलग्न एक चर्चित व्यक्ति हुन्। जसले कोरोना भाइरसको प्रकोपलाई देखेर ट्रम्पको ढुलमुले प्रवृत्तिको सधैं विरोध गर्दै आएका छन्। उनी अहिले अमेरिकामा एक चर्चित अनुहार बनेका छन्।
कोरोना भाइरसले अमेरिकाको इतिहास बदल्ला?
राजनीतिक रुपले हेर्दा भाइरसले निकै नै ठूलो संकट ल्याउने देखिन्छ। उदाहरणका लागि जब जर्ज डब्ल्यू बुसले सरकारी रुढिवादलाई बढावा दिन सुरु गरे‚ जसरी अमेरिकी नागरिकले‚ बाराक ओबामाले काला जातिको सट्टा गोरा जातिको हितमा बढी अग्रसर भएको पाए‚ त्यसबेला उनीहरूका विरूद्ध टी पार्टीको रुपमा एउटा नयाँ अभियान अगाडि आएको थियो।
टी पार्टीको आधिकारीक इतिहाँसलाई पल्टाएर हेर्ने हो भने जब तत्कालीन राष्ट्रपति बुसले ट्रबल्ड एसेट रिलिफ प्रोग्रामको कानुनमा हस्ताक्षर गरेका थिए त्यहीबेला सन् २००३ अक्टुबर ३ मा आन्दोलन भएको थियो।
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विश्वभर फैलिएको कोरोना संक्रमणका लागि कस्तो कदम उठाउँछन् त्यसले उनी भविष्यमा फेरि राष्ट्रपति बन्ने वा नबन्ने भन्ने कुराको निर्धारण गर्न मुख्य भूमिका खेल्छ।
उनका लागि पनि यो समय आउँदै गरेको राष्ट्रपतीय चुनावका लागि सदूपयोग गर्न सकेमा महत्त्वपूर्ण र परीक्षाको समय हुने विशेषज्ञहरू बताउँछन्।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।