काठमाडौं- अमेरिकी औषधि उत्पादक कम्पनी एबोट ल्याब्रोटोरिजले ५ मिनेटभन्दा कम समयमै कोरोना भाइरस जाँच गर्ने किट सार्वजनिक गरेको छ। यसबाट छोटो समयमै कोरोना संक्रमित हो वा हैन भन्ने पत्ता लगाउन सजिलो हुनेछ।
कम्पनीका अनुसार द युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले उक्त किटलाई आपत्कालीन अवस्थामा प्रयोग गर्ने अनुमति दिएको द इकोनोमिक्स टाइम्सले लेखेको छ। सो किटले कोरोना भाइरस (कोभिड १९) पोजेटिभ भए ५ मिनेटभन्दा कम समयमा र नेगेटिभ देखिए १३ मिनेटमा नतिजा दिने दाबी कम्पनीले गरेको छ।
उक्त किटको प्रकृतिअनुसार आपत्कालीन अवस्थामा हेल्थ केयर फ्यासिलिटी भएको ठाउँभन्दा बाहिर लगेर समेत कोरोना भाइरस जाँच गर्न सकिने कम्पनीले जनाएको छ। कोरोनाको परीक्षणक लागि समय लाग्ने र प्रयोगशालासम्म पुग्नुपर्ने जटिलतालाई किटले सहज तुल्याउने कम्पनीका प्रमुख तथा प्रमुख सञ्चालन अधिकृत रोबर्ट बि फोर्डको भनाइ छ।
हाल कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिकामा रहेको छ। शनिबार बिहानसम्मको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २ हजारभन्दा बढी पुगेको छ। अमेरिकामा पूर्वी एसियाली मुलुक दक्षिण कोरियामा जसरी आक्रामक रूपमा परीक्षण हुन नसकेको जनाइएको छ।
कम्पनीले प्रशासनको अनुमतिमा सुरूवाती चरणमा अति प्रभावित क्षेत्रमा परीक्षण गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।