भैरहवा- नेपालको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालयबाट खाद्यान्नलगायतका अत्यावश्यकीय सामाना सहज ढंगले आयात निर्यात गर्न नेपाल र भारत दुवै देशका अधिकारी सहमत भएका छन्। कोरोना भाइरस (कोभिड १९)का कारण दुवै देशमा लकडाउन भएपछि चालकहरुलाई खान बस्न समस्या हुने भन्दै नाकाबाट वारपार गर्न नमान्दा निकै कम संख्यामा बेलहियाबाट गाडी नेपाल प्रवेश गरेका थिए।
दुवै देशका भन्सार अधिकारी, भन्सार एजेण्ट र ट्रान्स नेपालबीच आयात निर्यात सहज गराउने विषयमा सहमति भएपछि सहज आपूर्ति भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए। छलफलमा दुवै देशका भन्सार अधिकारीका साथै सुरक्षा अधिकारी र भन्सार एजेण्ट सहभागी थिए।
बुधबार भैरहवा भन्सार कार्यालयबाट ८५ वटा मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएका थिए। सहज आपूर्ति गर्ने सहमतिसँगै बिहीबार साँझ सम्ममा १ सय ५२ बटा मालवाहक गाडी भैरहवा भन्सार कार्यालय हुँदै नेपाल भित्रिएका थिए। जसमध्ये पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी तथा फलफूल, औषधी तथा औद्योगिक कच्चा पदार्थ बोकेका गाडी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।
भन्सार प्रमुख भट्टराईले आज बिहानसम्ममा १८ ग्यासका बुलेट नेपाल भित्रिएको जानकारी दिए। यसअघि बुधबार एलपी ग्यास बुलेट १५, पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएका थिए। लकडाउनभन्दा अघि दैनिक चार सयदेखि छ सय गाडी नेपाल भित्रिने गरेकोमा लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि भारतीय ट्रक नेपाल आउन थालेका हुन्।
'भारतमा पनि लकडाउन भएपछि नियमित नेपाल आउने मालवाहक ट्रकहरु सबै नआए पनि खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्रकहरु सहजरुपमा नेपाल ल्याउने प्रयास भएको छ', भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भने।
नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुवै देशका अधिकारीबीच सहमति भएको छ। सामान बोकेर नेपाल आएका ११४ ट्रक खाली गरी बिहीबार भारततिर पठाइएको सशस्त्र प्रहरी बल राजस्व भन्सार गुल्म भैरहवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सीमा नाकामा मानिसहरुको आवतजावतमा भने रोक लगाइएको छ। भैरहवा भन्सार कार्यालयले नेपाल आउने गाडी चालकहरुको स्वास्थ्य जाँच गर्ने र गाडीको सफाईमा ध्यान दिने बताएको छ।
नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रीय अध्यक्ष डा. शान्तकुमार शर्माले अचानक भएको लकडाउनका कारण बैंकसमेत बन्द हुँदा भारततर्फ दुई हजार पाँच सय गाडी एलसी नभएका कारण रोकिएको बताए। खाद्यान्नलगायत अत्यावश्यक सामान आपूर्तिमा भने अब समस्या नरहने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।