काठमाडौं– नेपालमा सम्भावित कोरोना संक्रमितको परीक्षणका लागि किट अभाव भइरहेको समयमा दक्षिण कोरियामा रहेका नेपालीले ‘एक नेपाली एक किट’ अभियान सञ्चालन गरिरहेका छन्।
दक्षिण कोरियास्थित एआरएनको संयोजनमा किट खरिदका लागि त्यहाँ रहेका नेपालीहरु सक्रियतापूर्वक लागिरहेका छन्। एआरएन कोरियाले उपलब्ध गराएको बैंक खातामा बुधबारदेखि नै युवाहरु रकम जम्मा गरिरहेका छन्।
प्रतिकिट २० डलर पर्ने भएकाले एनआरएन कोरियाले कामका लागि दक्षिण कोरिया पुगेका युवाहरुलाई सहयोगका लागि जुट्न आव्हान गरिएको छ। एनआरएन कोरियाको आह्वान अनुरुप प्रतियुवा २० हजार वन संकलन भइरहेको एनआरएन कोरिया च्याप्टरका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए।
कोरियामा रहेका ४० हजार युवामध्ये दुई हजारले मात्रै सहयोग गरे पनि नेपालमा किटको समस्या तत्काललाई नहुने सुवेदीले बताए।
युवाहरुमा गरिएको आह्वानपछि हालसम्म करिब २ करोड २० लाख वन जम्मा भएको एनआरएन कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए।
कोरियामा निर्मित किटले कोरोना संक्रमितको परीक्षणको नतिजा छिटो दिने बताइएको छ। तीन घन्टा भित्रैमा संक्रमितको परीक्षण नतिजा दिने किट उत्पादक कम्पनीसँग सम्झौता गरिएको सुवेदीले जानकारी दिए।
नेपालसँग हवाइसेवा रोकिएकाले उपकरण नेपाल पठाउन समस्या रहेको बताइएको छ। शुक्रबार चीनमा पठाएर त्यहाँबाट नेपालसम्म पुर्याउने तयारी भएको सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।