एजेन्सी- कोरोना भाइरसका कारण भारतीय फिल्म नगरी बलिउडमा ८ सय करोड घाटा हुने भएको छ। रिलिजको तयारीमा रहेका फिल्म रोकिँदा, हल सुनसान हुँदा र सुटिंगमा गइसकेको फिल्मको निर्माण बीचैमा रोकिदा सो अनुपातको घाटा हुने आँकलन गरिएको हो।
मार्च महिना बलिउडका लागि निक्कै संवेदनशील थियो। यही महिनामा टाइगर श्रफको अभिनय रहेको बागी-३ र इरफान खानको अंग्रेजी मिडियम रिलिज भयो। भाइसरको बढ्दो प्रभावले फिल्म हेर्न हल जाने दर्शकको संख्या निक्कै कम हुँदा दुवै फिल्मले ठूलो आर्थिक घाटा ब्यहोर्नुपर्यो।
अक्षय कुमारको सुर्यवंशीको रिलिजै रोकियो भने अर्को फिल्म पिंकी फरार पनि रिलिज भएन। बलिउड व्यापारसम्बन्धी जानकार कोमल नहाटाका अनुसार यिनै समस्याहरुका कारण बलिउडमा ८ सय करोडको क्षती हुने पक्का छ।
उनको आँकलनअनुसार कोरोनाका कारण बागी-३ ले ३० करोडसम्म घाटा ब्यहोर्नुपरेको छ। यसको असर अन्य फिल्ममा पनि परेको छ नै। भारतमा कोरोना भाइरसबाट पीडितको संख्या एक सय पार भइसकेको छ भने ३ जनाको निधनै भइसकेको छ। सरकारले भाइरसलाई फैलन नदिन नाका बन्द गर्ने, अन्तर्राष्ट्रिय उडान रोक्ने र आकस्मिकबाहेकका भिसा नदिने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।