काठमाडौं- तनहुँ जलविद्युत आयोजनामा काम गरिरहेको इटालिएन ठेकदार कम्पनी सिएमसी गतवर्ष फागुनमा काम छाडेर भागेपछि उक्त आयोजनाको नयाँ ठेक्का सम्झौता प्रक्रिया अझै टुंगिन सकेको छैन।
सिएमसी भागेपछि आयोजनाको पहिलो चरणको काम सक्न गत वैशाखमा दोश्रो पटक टेण्डर आह्वान गरिएको थियो। तर आयोजनामा लगानी गरिरहेका एसियाली विकास बैंक (एडिबी) र युरोपियन लगानी बैंक (इआइबी) लगायत संस्थाहरूले दोश्रो चरणको टेण्डर प्रक्रियामा सहभागी भएका कम्पनीहरुको योग्यता नपुगेको भन्दै ती प्रस्ताव अस्वीकृत गरेपछि तेश्रो पटक ग्लोबल टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया अगाडि बढाउन लागिएको हो।
दोश्रो चरणको ठेक्का प्रक्रियामा तीनवटा चिनीयाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले प्रस्ताव पेश गरेका थिए।
त्यस्तै ‘सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्ट्रक्सन नेपालको संयुक्त उपक्रम (जेभि) मा पनि प्रस्ताव परेको थियो। तर प्रस्ताव परेका यी सबै कम्पनीहरुले टेण्डर प्रक्रियाका लागि तोकिएको योग्यता नपुगेको भन्दै तेश्रो पटक टेण्डर आह्वान गरिएको हो। आयोजनाले फागुन १६ गते (फेब्रुअरी २८) तेश्रोपटक ग्लोबल टेण्डर आह्वान गरेको छ।
पहिलो चरणमा बाँधमा निर्माणलगायतका काम सक्काउन ठेक्का प्रक्रिया अगाडि बढाइएको तनहुँ जलविद्युत कम्पनीले जनाएको छ। आयोजनाको दोश्रो चरणको काम भने चिनियाँ कम्पनी सिने हाईड्रो लिमिटेडले गरिरहेको छ। दोश्रो चरणमा सुरुङमार्ग निर्माण, विद्युतगृह निर्माण र उपकरण जडानको काम सिने हाइड्रोले गरिरहेको छ।
१ सय ४० मेगावाट उत्पादन क्षमता रहेको उक्त आयोजना सन् २०२३ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। आयोजना निर्माणको पहिलो चरणमा नै ठेकेदार कम्पनीले काम छाडेको र नयाँ ठेकेदार कम्पनी छनौट गर्ने एक वर्षभन्दा बढी समय लागेपिछि निर्माणको काम समयमै सम्पन्न गर्न थप चुनौतीपूर्ण हुने देखिएको छ।
त्यस्तै आयोजनाको लागत पनि बढ्ने देखिएको छ। फागुन १६ गते आह्वान गरिएको ग्लोबल टेण्डरका लागि ४५ दिन समयसीमा तोकिएको छ। त्यसपछि ठेकेदार कम्पनी छनौटलगायत कार्यका लागि थप केही महिना समय लाग्ने देखिन्छ। यसरी, पहिलो चरणमा बाँकी रहेको काम अझै केही महिनासम्म सुरु गर्न नसकिने अवस्था देखिएको हो।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले १५० मिलियन अमेरिकी डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८४ मिलियन अमेरिकन डलर, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआइबी)ले ८५ मिलियन अमेरिकन डलर र नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच भएको विद्युत खरिद-बिक्री सम्झौता (पिपिए) को मुख्य प्रावधानमा ‘सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ,’ भनी उल्लेख गरिएको छ। पिपिए सम्झौता आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८० चैत ३० गते तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।