कठमाडौ- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाइ पाऊँ’ भन्दै उनले मुद्दा दायर गरेकी हुन्।
मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छन्।खड्काले दायर गरेको मुद्दामा सञ्चारमन्त्री भएको समयमा राईले आफूलाई राजधानीको गोल्फुटारमा कोठा भाडामा लिएर राखेको दाबी गरेकी छन्।
उनले राईसँग ७१ सालदेखि सँगै रहेको भन्दै मुलुकी संहिताअनुसार विवाह कायम गरी अंश दिलाउनुपर्ने माग गरेकी छन्।
राईविरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। राई मुख्यमन्त्री भइसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छन्। उनले आफूलाई भएको अन्यायबारे नेकपाका शीर्ष नेताहरूलाई जानकारी दिन खोज्दा बेवास्ता गरेको समेत मुद्दामा उल्लेख गरेकी छन्। अदालतले मुद्दा दर्तासँगै मुद्दा पेशी समेत तोकिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।