काठमाडौ- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद विवादमा लेखा समितिको छलफलअघि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद विवादमै आज बिहीबार ११ बजे लेखा समितिले छलफल गर्दैछ। त्यसका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका प्रमुखलाई बैठकमा बोलाइएको छ।
सेक्युरिटी प्रेस खरिद विवाद लामो समयदेखि प्रतिनिधि सभाको लेखा समितिले हेर्दै आएको थियो। यही विषयमा सरकार र लेखा समितिबीच विवाद पनि हुँदै आएको थियो।
नोट, पासपोर्ट, अन्तःशुल्क लगायत सरकारका गोप्य विवरण छाप्नका लागि नेपालमा प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारी सरकारले गरेको थियो। प्रेस नेपाल भित्र्याउन यती समूह पनि लागिपरेको थियो। सरकारले यती समूहलाई नै दिन चाहेको थियो।
लेखा समितिको गत पुस २१ गते बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ खरिदका विषयमा विस्तृत अध्ययन गर्ने निर्णय गरेको थियो। सरकारले जिटुजी मोडलमा सुरक्षित मुद्रणसम्बन्धी मेसिन खरिद गर्दा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा लेखा समितिले सरकारको उक्त निर्णय र प्रक्रियामाथि विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको गत कात्तिक २० गतेको निर्णयले सुरक्षण मुद्रणसम्बन्धी उपकरण सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ अनुसार जिटुजी मोडलमा खरिद गर्ने निर्णय गरेको थियो। जसमा फ्रान्स र जर्मनीबाट प्राप्त प्रस्तावलाई मूल्यांकन गरेर सुरक्षण मुद्रण खरिदका लागि पुस ७ गते बसेको मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रकम निकासा गर्ने निर्णयसमेत गरिसकेको छ।
सामान्यतया ९० देखि १ लाख मिलियन अमेरिकी डलर बराबरमात्रै पर्ने मेसिनलाई सरकारले २ सय मिलियन अमेरिकी डलर तिर्न लागेको भन्दै लेखा समितिमा उजुरी परेको छ। समितिले सोमबार यस क्षेत्रका जानकारी व्यक्तिहरुसँग सामान्य छलफलसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।