सञ्चार माध्यमहरूले नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफनो भूमिका अलिकति पनि प्रभावशाली ढंगले निर्वाह नगरेको टिप्पणी गरिरहेकै बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनावश्यक विवाद सिर्जना गरेका छन्।
उनले जनयुद्ध दिवस मनाउने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाबारेमा गरेको टिप्पणीको प्रतिवाद गरे।
आफ्नो भाषणमा प्रचण्डले राजा ज्ञानेन्द्रको अलोकतान्त्रिक शासनबाट देश पीडित भइरहेका बेला स्वर्गीय नेता कोइरालाले आफूसँग ‘आन्दोलन चर्काउन’ भनेको सम्झना गरेका थिए। प्रचण्डको यो भनाइ असत्य र अस्वाभाविक थिएन। यसबाट कांग्रेस प्रवक्ता शर्मा किन उद्वेलित भए? त्यसको कुनै प्रत्यक्ष कारण पनि देखिँदैन।
यो इतिहासमा अंकित सत्य हो कि देशका मूलधारका राजनीतिक दलहरूको तर्फबाट गिरिजाप्रसाद कोइरालाले माओवादीसँग शान्ति–वार्ता मात्रै गरेका थिएनन्, तत्कालीन राजाको शासनविरुद्ध प्रमुख राजनीतिक दल र सशस्त्र संघर्षरत नेकपा (माओवादी) देखिँदा पृथक तर ‘संयुक्त’ आन्दोलनको नेतृत्व पनि गरेका थिए।
यो सत्य हो, आन्दोलनको नेताका रूपमा स्वर्गीय कोइरालाले प्रचण्डसँग आन्दोलनको गति बढाउन भनेका थिए। त्यसमा कुनै अस्वाभाविकता थिएन। त्यो समयमा कोइराला माओवादीसहित सर्वदलीय सहमतिका साथ सबैको अभिभावक र नेता थिए। प्रवक्ता शर्मालाई स्वर्गीय कोइरालाको तत्कालीन निर्णायक भूमिकाको ज्ञान छैन भने त्यो दुःखलाग्दो कुरा हो।
विगत बाह्र वर्षको अन्तरालमा कांग्रेस र माओवादीको सम्बन्ध कहिले चिसो र कहिले तातो हुँदै गएको देखिन्छ। अहिले यस्तो समय आएको छ, माओवादी आफ्नो पूर्व रूपमा छैन। एमाले–माओवादीको सांगठनिक विलयपछि कम्युनिस्टहरू नेपाल कम्युनिस्ट पार्टीको नाममा समेटिएका छन्। यो सामान्य तथ्य हो। तर, यसको अर्थ माओवादी देशबाट नामेट भए भन्ने पक्कै होइन।
वैद्य माओवादी र विप्लव माओवादी दुई अलग समूहका रूपमा अस्तित्वशील छन्। वैद्य माओवादीबाट उम्केर प्रचण्डसँग मिल्न आएका रामबहादुर थापा 'बादल' यतिबेला गृहमन्त्री छन्। मूल माओवादी अर्थात् प्रचण्ड नेतृत्वको माओवादी नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरित भएका छन्।
एमाले-माओवादीको विलयपछि पनि माओवादीको परिचय र पहिचान मेटिएको छैन। त्यो मेटिँदैन पनि। कसैलाई मन परे पनि र मन नपरे पनि। यो देशमा परिवर्तन ल्याउन यिनीहरूले नै दिलोज्यानले काम गरेका छन्।
माओवादीले सक्रिय रूपमा आफ्नो हिंसात्मक अभियान एक दशक नधानेको भए नेपाल यति छिटै संघीय गणतन्त्रमा रुपान्तरित हुने थिएन। मूलधारका राजनीतिक दलहरू मात्रैको आन्दोलनको प्रभावकारिता थिएन। यो सामान्य तथ्य हो। यसमा अहिंसावादीहरू असहमति जनाउन स्वतन्त्र छन्। तर, सत्य यही हो कि, नेपालमा गणतन्त्रको आगमनको प्रभावशाली कारण माओवादी नै थिए।
हिंसात्मक द्वन्द्वका समस्याको गम्भीर अध्ययन नगरी पार पाउन नसकिने अहिलेको अवस्थामा दलहरूको भागबन्डाका कारण समस्या समाधान हुन नसक्ने देखिएको छ। दलीय स्वार्थबाट पर हटेर निष्पक्ष ढंगले काम गर्नसक्ने सत्य–तथ्य निरुपण आयोगको गठन अहिलेको आवश्यकता हो। प्रभावशाली राजनीतिज्ञहरू र सरकारी निकायको प्रभावलाई लत्याउन सक्ने आयोग बनेन भने राजनीतिलाई लासको व्यापार बनाउनेहरू हाबी हुँदै जानेछन्। त्यो अवस्था देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ।
संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुंगानाले आफ्नो एउटा फेसबुक पोस्टमा माओवादी पार्टीको अस्तित्वको खोजी गरेका छन्। ढुंगानाका अनुसार, यति ठूलो राजनीतिक अभियानको अभियन्ता बनेको पार्टी एकाएक दृश्यपटलबाट बाहिरिनु स्वाभाविक होइन। जनयुद्धका घाउहरू पुरिई नसकेको अहिलेको अवस्थामा माओवादी पार्टीको अस्तित्व नदेखिनु बिडम्बना भने हो।
तैपनि, पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष भएपनि उनले माओवादीको बिँडो थामेका छन्। यसलाई उनले आफ्नो दायित्व स्वीकार गरेका छन्।
प्रचण्ड विभिन्न अवतारमा देखापर्ने गर्दछन्। जवान छोरा र छोरी गुमाउने संवेदनशील बाबु, पत्नीको पीडादायक अवस्थाबाट द्रवित भएका पति, व्यूह रचनामा पोख्त तथा अध्ययनशील राजनीतिक व्यक्तित्व, राजनीतिका तरल प्रवाहमा निरन्तर पौडिई रहेका पौडीबाज, जनतालाई नांगो र फोस्रो आश्वासन दिएर भाषण गर्ने नेता, राजनीतिका कुटिल चालहरू ठम्याउँदै र चिर्दै अघि बढेका राजनीतिज्ञ, विवादास्पद हिसाबले उल्झनमा परेका साहू–महाजनका साथीलगायत प्रचण्डका व्यक्तित्वका आयामहरू थुप्रै छन। उनका अभिव्यक्तिहरू पनि त्यत्तिकै विवादास्पद छन्। यी सबैको चिरफार गर्न सहज छैन।
यसको अर्को पाटो पनि छ। भूमिगत अवस्थाबाट बाहिर निस्केदेखि अहिलेसम्म प्रचण्डले अनेकौं हुरी–बतास, झरी–बादल र घाम–पानीको सामना गरिसकेका छन्। तर, यी सबैको प्रभाव उनको व्यक्तित्वमा परेको देखिँदैन। उनको व्यक्तित्वमा अहिले पनि आकर्षण छ।
निश्चय पनि, मानिस उनको चर्चामा रमाउँछन्। राजनीतिक विवाद प्रचण्डको मनोविनोद हो। उनी आफैं विवाद मन पराउँछन्। दशक लामो माओवादी जनयुद्धमा लागेका घाउ–खत देखाएर क्षतिपूर्ति खोज्ने र माओवादी यातनाको बिलौना गर्नेको संख्या अहिले पनि कम छैन।
तर, सत्य के हो भने, प्रचण्डले मूलधारका राजनीतिक दलहरूसँगको सहकार्य गरेर नेपाल सरकारसँग जुन बृहत्त् शान्ति सम्झौता गरे, त्यसले माओवादीलाई प्रतिस्पर्धात्मक राजनीतिको अंग बनायो। यो उपलब्धि सानो होइन।
हालै प्रचण्डले सोनाम ल्होसारका अवसरमा भाषण गर्दै भने, ‘जनयुद्धमा मारिएका पाँच हजार लडाकुको जिम्मा लिन म तयार छु। बाँकी बाह्र हजारको जिम्मा लिइयोस्।’
हिंसात्मक द्वन्द्वका समस्याको गम्भीर अध्ययन नगरी पार पाउन नसकिने अहिलेको अवस्थामा दलहरूको भागबन्डाका कारण समस्या समाधान हुन नसक्ने देखिएको छ। दलीय स्वार्थबाट पर हटेर निष्पक्ष ढंगले काम गर्नसक्ने सत्य–तथ्य निरुपण आयोगको गठन अहिलेको आवश्यकता हो। प्रभावशाली राजनीतिज्ञहरू र सरकारी निकायको प्रभावलाई लत्याउन सक्ने आयोग बनेन भने राजनीतिलाई लासको व्यापार बनाउनेहरू हाबी हुँदै जानेछन्। त्यो अवस्था देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ।
(वरिष्ठ पत्रकार नेपालको स्तम्भ देशकाल हरेक आइतबार नेपाल लाइभमा प्रकाशित हुनेछ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।