एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाद्वारा पत्रकारमाथि कुटपिट

नेपाल लाइभ | २०७६ माघ २८ मंगलबार | Tuesday, February 11, 2020 २२:०९:०० मा प्रकाशित

लिस्बोन (पोर्चुगल)- गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पोर्चुगलमा नै सक्रिय रहेका पत्रकार सविन धिताल (प्रविन)माथि कुटपिट गरेका छन्।

पोर्चुगलको राजधानी लिस्बोनमा आइतबार सम्पन्न एक कार्यक्रममा रिपोटिङ गर्न पुगेका पत्रकार घिताललाई कार्यबाहक अध्यक्षसमेत रहेका थापाले कुटपिट गरेका हुन्। 

पोर्चुगलस्थित नेपाली मिडियाले संघभित्रका गलत गतिविधि र रबैयाविरुद्धमा नियमित खबरदारी गरेको भन्दै एनआरएन र केही पत्रकारहरूबीचको सम्बन्ध चिसिएको थियो। 

'भोइस अफ नेपाल'ले केही महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा, ठगी र मानव तस्करीबारेमा लगातार फलोअप समाचार प्रकाशिन गर्दै आइरहेको छ। धिताल भोइस अफ नेपाल टिभी र प्रोर्चुगलका पत्रकारहरूको संस्था नेप्लिज जर्नालिस्ट क्लबमा आबद्ध छन्। 

पत्रकार धितालले आफूविरुद्ध गतल सूचना दिएको भन्दै थापाले सांस्कृतिक कार्यक्रममा नै धितामाथि कुटपिट गरेका थिए। 

पत्रकार धितालले फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, '२४ घन्टासम्म मैले कुरेर बसेँ, तर पनि सरोकारवाला निकायबाट चासो भएन। संघका साथीहरू मौन छन्। एनआरएनएका पदाधिकारीबाटै नेपाली कुटिन्छन्। यहाँका संघसंस्थाहरु यस्ता विषय मौन भइदिन्छन्।' नेपालीहरुको साझा संस्थाले नै नेपालीप्रति ज्यादती गरेको भन्दै उनले गुनासोसमेत गरेका छन्। 

पीडित पत्रकार धितालले थापाविरुद्ध स्थानीय प्रहरीमा उजुरी दिएका छन्। स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको बताइएको छ।

आक्रमणकारी थापाले पत्रकार धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कीसमेत दिएको पत्रकार धितालले बताए।