काठमाडौं– ८४ बुँदे मार्गचित्र सार्वजनिक गरेको ९ महिनापछि गृह मन्त्रालयले ८२ बुँदे नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। पुराना योजना कार्यान्वयन नहुँदै नयाँ कार्ययोजना बनेको हो।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्ययोजना सार्वजनिक गरेका हुन्। ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने नारासहित बनाइएको कार्ययोजना सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सार्वजनिक गरे।
कार्ययोजनामा नीतिगत र कानुनी सुधार, संगठनात्मक सुधार र रुपान्तरण, जनशक्ति व्यवस्थापन, सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्युनीकरण क्षमता अभिवृद्धि, अनुशासन र सदाचारिता प्रवर्द्धन र कार्ययोजना कार्यान्वायन अनुगमन र मूल्यांकनको उदेश्य राखिएको छ।
राष्ट्रिय एकता बलियो बनाई शान्ति सुरक्षामा सुधार गर्न कार्ययोजना बनाइएको गृहमन्त्री थापाले बताए।
प्रहरीको सरुवा बढुवामा सुधार, सीमालाई बलियो बनाउने, अध्यागमनमा सुधार गर्ने, इलाका र सीमा प्रशासन कार्यालयहरुलाई बलियो बनाउने लगायतका विषयहरु छन्।
तत्कालीन गृहमन्त्री जनार्दन शर्माले असार १३ गते ८४ बुँदे मार्गचित्र सार्वजनिक गरेका थिए। एक महिनाभित्र पर्यटकीय बजार २४ घन्टाभित्र खुलाउने, रिक्त पदमा तत्काल बढुवा गर्ने जस्ता उनका सामान्य बुँदाहरु समेत कार्यान्वायन भएको छैन। त्यही बेला नयाँ कार्ययोजना आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।