पोखरा- नेपालकी संगीता राईले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। कीर्तिमान बनाएकी उनले कास्य पदक जितिन्।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १ सय २७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गर्दै आफ्नो नाम लेखाएकी हुन्। २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १ सय २७ केजी भार बहन गरेकी हुन्।
यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित १ सय १२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।
सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १ सय ५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन्। श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन्।
यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो। प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ।
भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन्। हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १ सय ५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन्।
बंगलादेशकी मोला सविराले १ सय ३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन्। उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन्। विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ।
चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ। भुटानको यो पहिलो सहभागिता हो। महिला र पुरुषतर्फ १०/१० तौल समूहमा प्रतिस्पर्धा हुनेछ। बिहीबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।