अस्पतालको शय्याबाट प्रधानमन्त्रीको भिडियो सन्देश– म उठेर बोल्न सक्ने अवस्थामा छु

नेपाल लाइभ | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 १६:४९:०० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार भएको बताएका छन्।

एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले सोमबार दिउँसो भिडियो सन्देशमार्फत भनेका छन्–  'मेरो स्वास्थ्य राम्ररी अगाडि बढिरहेको छ। सुधार भइरहेको छ। र एउटा मेजर अपरेसनपछि तपाईंहरु अहिले पनि देखिरहनुभएको छ, म उठेर फेरि बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।'

उनले एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग नभएको र अचानक आइलाग्ने बताएका छन्।

'मलाई पनि अप्रत्याशित रुपमा त्यसैगरी आइलाग्यो। यसमा इन्फेक्सन भएछ। र त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्दा सजिलो हुने थियो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपर्‍यो', उनले भनेका छन्, 'त्यसकारण हप्ता/दश दिनको उपचारको क्रममा लाग्ने नै भयो।'

प्रधानमन्त्री ओलीले आइतरबार सम्पन्न १३औं सागको उद्घाटन समारोह आफूले पूरै हेरेको बताए। 'साग हुनसक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकोमा खुसी लागेको छ', उनले भने।

मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरुलाई ओलीले आग्रह गरेका छन्।

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान