पूर्वमन्त्री तथा व्यापारी रूप ज्योति छोरीसहित म्याद थपका लागि अदालतमा

नेपाल लाइभ | २०७६ कार्तिक २४ आइतबार | Sunday, November 10, 2019 १४:१८:०० मा प्रकाशित

काठमाडौं- हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचिलाई म्याद थपका लागि दोस्रो पटक अदालत लगिएको हो। 

यसअघि जिल्ला अदालत काठमाडौंले रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको थियो। सो म्याद शनिबार सकिएपछि उनीहरुलाई आइतबार दोस्रो पटक म्याद थपका लागि अदालत पुर्‍याइएको हो।

ज्योति बाबुछोरीले आफ्नोतर्फबाट वकालत गर्न वकिल नराखी आफैंले बहस गर्ने भएका छन्।

महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।  

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो।

तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। 

त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका थिए। 

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए।

उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। (फाइल तस्बिर)