इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा

नेपाल लाइभ | २०७६ कार्तिक १३ बुधबार | Wednesday, October 30, 2019 ०७:२०:०० मा प्रकाशित

काठमाडौं- भारतीय सुपरमोडल एमिली रतजकोब्सकीविरुद्ध १ लाख ५० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर भएको छ।

यो रकम एक करोड ५० लाख नेपाली रुपैयाँ बराबर हो। यति मात्र होइन मुद्दा वादी पक्षले फोटोबाट भएको सबै कमाइ समेत आफैले पाउनुपर्ने भन्दै मुद्दा दायर भएको छ।

पापाराजी फोटोग्राफर रोबर्ट ओ निलले एमिली विरुद्ध मुद्दा दायर गरेका हुन्। उनीमाथि कपिराइट उल्लंघन मुद्दा दायर भएको हो। यद्यपि यो मुद्दा कहाँ दर्ता गरिएको भन्ने खुलाइएको छैन।

एमिलीले इन्स्टाग्राममा आफूले खिचेको फोटो  बिना अनुमति इन्टामा राखेको दाबी निलले गरेका छन्। केही समयअघि मात्र एमिलीले एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। 

निलले यसरी कपिराइट उल्लंघनसम्बन्धी मुद्दा दायर गरेको यो पहिलो पटक भने होइन। यसअघि उनले गिगी हदीद विरुद्ध पनि यस्तै प्रकृतिको मुद्दा दायर गरेका थिए। 

२८ वर्षीय एमिलीले 'मुड फरइभर' क्याप्सनका साथ राखेको फोटो आफूले खिचेको दाबी निलले गरेका छन्।