काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिवद्धताका साथ लागि परेको बताएका छन्। उनले एनआरएनएको तर्फबाट १२ अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिवद्धताका साथ काम सुरु गरिएको जानकारी दिए।
एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई दिन रिपोर्टर्स् क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले भने, 'हामीले नेपाल सरकारसँग १२ अर्ब रुपैयाँ भित्र्याउने भनेर एमओयू पनि गरिसकेका छौं, यो प्रतिवद्धता पूरा गर्नका लागि काम सुरु गरिसकेका छौँ।' उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत एनआरएनएको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए।
गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पुँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाइने उनको भनाइ थियो। पछिल्लो समय एनआरएनएले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मन केसीले दीर्घकालीन योजनासहित काम गर्ने बताउँदै यसअघि गरिएका प्रतिवद्धता कार्यान्वयन गरेरै छोड्ने प्रण गरे। उपाध्यक्षद्वय सोनाम लामा र अर्जुनकुमार श्रेष्ठले सरकारले घोषणा गरेबमोजिम 'नेपाल भ्रमण वर्ष २०२०' अभियानलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने बताए।
महासचिव डा हेमराज शर्माले नवौँ विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण सङ्घको छविमा केही प्रश्न उठेको भए पनि त्यसलाई छिटपुट घटनाको रुपमा लिन आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।