दसैंले कसरी चलायमान बनाउँछ अर्थतन्त्र?

अजय शाह | २०७६ असोज २० सोमबार | Monday, October 07, 2019 ११:४८:०० मा प्रकाशित

जनकपुर- दसैंको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ। दसैंका लागि किनमेल गर्नेहरुको बजारमा भीड बढ्दो छ। टाढाबाट दसैं मनाउन घर आउनेहरु जिल्लामा आउने क्रम जारी छ भने नजिकै कार्यक्षेत्रमा रहेका मानिसहरु पनि प्रायः बिदा मिलाएर दसैं मनाउन घर जाने तयारीमा छन्।

दसैं भन्ने बित्तिकै टीका, जमरा र आशिर्वादका अलावा रमाइलो गर्नु, मिठो खानु र नयाँ कपडा लगाउनुसम्म जोडिएर आउँछ। त्यसमाथि पछिल्ला केही वर्षदेखि यो सूचीमा घुम्न जाने पनि थपिएको छ। जसका कारण पनि दसैंले अर्थतन्त्रलाई चलायमान बनाउने गरेको छ।

मुलतः हिन्दू धर्मालम्बीहरुको पर्व भए पनि सांस्कृतिक एकताको पर्वको रुपमा लिइने दसैंले हालको बजार अर्थतन्त्रलाई प्रचुर मात्रामा टेवा दिँदै आएको छ। नेपालीहरुको सवैभन्दा ठूलो चाड दसैंको समाजिक र सांस्कृतिक मात्र होइन आर्थिक महत्व पनि उत्तिकै छ।

आज मात्रै होइन, पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभ बताउँछन्।

'पहिले-पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो। पहिले दसैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहितका समानको किनमेल गर्ने गर्दछन्, कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ,' उनले भने।

मौसम परिर्वतन हुनेबेला अर्थात जाडो सुरु हुन लागेको यो समयमा न्याना कपडाको बिक्री सुरु हुने गर्दछ।

व्यवसायीहरुका अनुसार दसैंमा करिब १० अर्ब रुपैयाँ बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ। जनककपुरमा मात्र हरेक वर्ष दसैंमा २५ हजार खसिबोका खपत हुने तथ्यांक छ।

यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकोले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्‌हरु बताउाछन्। अर्थविद्‌हरुकै शब्दमा भन्ने हो भने दसैंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ। करिब ५ लाख कर्मचारीका लागि ४ अर्ब रुपैयाँभन्दा बढी रकम दसैैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्यांक छ।

यसबाहेक निजी क्षेत्रका संघसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दसैं खर्चवापत बोनस तथा भत्ता दिन्छन्। यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको छ। पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन्।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने औषतमा दसैंताका करिब १०/१५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दसैंमा घर फर्किँदा लिएर आउने रकम भने जोडिएको छैन। भारतमा हजारौंको संख्यामा नेपालीहरु कार्यरत रहेकोले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ।

दसैंको अवसर भनेको यातायात व्यवसायीका लागि समेत कमाइको प्रमुख समय हो। यो समयमा राजधानी तथा अन्य प्रमुख सहरबाट देशका अन्य क्षेत्रमा जाने सवारीसाधन खाली सवार हुनुपर्ने अवस्था आउँदैन। यसकारण पनि व्यवसायीहरु यो समयमा बसको संख्या समेत थप्ने गर्दछन्।

दसैंको बिदाको अवसर पारेर परिवारसहित घुम्न जाने प्रचलन समेत बढेकोले झनै अर्थतन्त्र चलायनमान हुने गरेको छ।‍ आन्तरिकका अलावा विदेश भ्रमणमा समेत जाने प्रचलन बढेकोले ठूलो मात्रामा नेपाली रकम बाहिरिने गर्छ। यसमा अर्थविद्‌हरुले चिन्तासमेत जाहेर गर्ने गरेका छन्।

अर्थविद्‌हरुका अनुसार दसैं अघिका दुई/तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ।

२०४६ सालपछिको आर्थिक उदारीकरणले मध्यवर्गीय तथा संभ्रान्त परिवारको संख्या बढाउँदै लगेको देखिन्छ। यसकारण पनि दसैंमा प्रत्येक वर्ष खर्च गर्ने प्रवृत्ति तथा मानसिकता बढ्दै गइरहेको पाइन्छ। त्यसमाथि रेमिट्यान्सका कारण पनि उपभोगको संस्कृति मौलाएकाले दसैं मनाउने शैलीमा मात्र होइन, प्रायः सवैजसो चाड मनाउने शैली र खर्चको प्रवित्तिमा आमूल परिवर्तन आएको छ। 

यसरी खर्च गर्ने शैलीमा आएको परिवर्तनले बजार अर्थतन्त्रलाई झन् चलायनमान बनाएको छ। दसैंदेखि छठ पर्वसम्म बजारमा करिब ५ अर्ब रुपैयाँको चलखेल हुने बताइने गरिएकोले पनि दसैंको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ।

खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ। दसैंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने प्रदेश २ का उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराको तर्क छ।

छुट तथा विभिन्न, आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढ्ने उनको भनाइ छ।

त्यसमाथि अर्थविद्‍को भनाइमा दसैं सहरबाट गाँउमा आय वितरण हुने अर्थतन्त्रको एक विशेषतासमेत हो। दसैंको बेलामा सहर तथा विदेशमा रोजगारी तथा व्यवसाय गरेर बसेकाहरु नगद तथा विविध सामाग्री बोकेर गाउँघर जाने हुँदा आर्थिक गतिविधि बढ्ने गरेको समाजशास्त्री निल बहादुर लुम्रेको भनाइ छ।

दसैं र जनकपुर बजारको चहलपहल


यतिखेर प्रदेश २ को राजधानी जनकपुरधाममा दसैंको निकै चहलपहल बढेको छ। दसैंको टीका तथा दिपावली नजिँकिदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ। खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ।

चाडपर्वका लागि मानिसहरुले खाद्य सामग्रीदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन्। त्यसैले पनि दसैं नजिकिएसँगै बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढ्ने गरेको छ।

जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा मानिसहरुको भीड देखिन्छ। सवारीसाधनहरुमा पनि मानिसहरुको उत्तिकै चाप छ।

व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दसैं, तिहार, छठ पर्वजस्ता महान चाडमा नै हो। यो समयमा अन्य समयमा भन्दा दोब्बर/तेब्बर व्यापार हुने गरेको पाइन्छ। व्यापार बढी हुने भएकोले पनि सडकदेखि पसलसम्म किनमेलका लागि भीड लागेको छ। दसैंलाई लक्षित गरेर सञ्चालन गरिएका सस्ता बजारमा पनि मानिसहरूको भीडभाड उल्लेख्य देखिएको छ।

दसैंमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने भन्ने परम्परागत मान्यताले गर्दा पनि यो समयमा बजारमा रौनक छाउने गरेको हो।