कांग्रेसको प्रश्न- महराले सभामुखबाट राजीनामा दिनुभएको हो कि कार्यभारबाट?

नेपाल लाइभ | २०७६ असोज १४ मंगलबार | Tuesday, October 01, 2019 १५:५२:०० मा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामालाई अझै प्रष्ट पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहलाई आग्रह गरेको छ। 

कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा सभामुख महराले दिएको राजिनामाप्रति असन्तुष्टि जनाउँदै यस्तो आग्रह गरेको हो। 

‘सभामुख महराले पदत्याग गरेको राजीनामा घोषणा गर्नु भएको छ। तर नेपाली कांग्रेसको तर्फबाट आग्रह गर्छु, उहाँले सभामुखबाट राजीनामा दिनु भएको हो कि कार्यभारबाट? उपसभामुखलाई राजीनामा दिने प्रबन्धअनुसार राजीनामा दिएँ भन्नु भएको छ। तर, उहाँले आफैं समयावधि किटान गर्नु भएको छ, छानबिन प्रक्रिया नसकिएसम्म भनेर,’कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘मानौं, छानबिन प्रक्रियाका लागि एक वर्ष लाग्यो भने संसदले सभामुखविहीन भएर एक वर्षसम्म कार्यभारको नेतृत्वमा जाने?' 

उनले थपे, 'छानबिन प्रक्रिया टुङ्गिएपछि एक किसिमको विवरण आउँछ त्यसपछि उहाँ फिर्ता आउने वा दण्डित हुने अधिकार नेपालको राज्य वा कानूनले राख्ने कि उहाँ आफैंले आफ्नो समयावधि निर्धारण गर्ने?’ 

प्रवक्ता शर्माले विदेश जाँदा कार्यभार दिएजस्तो यतिसम्मलाई भन्ने कार्यभारप्रति कांग्रेसको विमति रहेको बताए। शर्माले सभामुख महराले कार्यभार अर्कैलाई दिएको देखिएको तर राजीनामा दिएको नदेखिएको बताए। 

राजीनामा भनेको विषयलाई अझ परिष्कृत र प्रष्ट ढङ्गले ल्याउने र गराउने कुरामा नेकपाको उच्च नेतृत्व गम्भिर बन्नुपर्ने कांग्रेसले सुझाव दिएको छ।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखमाथि गम्भीर प्रश्न उठेको र यसले दुःखित र स्तब्ध बनाएको पनि बताएका छन्। कांग्रेसले घटना जति दुखित छ, उत्ति नै नेपाली नारीप्रतिको सम्मान र मर्यादा राख्ने सन्दर्भमा यस्तो व्यवहारले समाज कतातिर जाँदैछ भन्ने प्रश्न पनि गम्भीर भएको जनाएको छ।

सम्बन्धित समाचार