एनआरएनए युरोप उपसंयोजकमा मुक्तबहादुर गुरुङको उम्मेद्वारी

नेपाल लाइभ | २०७६ असोज ८ बुधबार | Wednesday, September 25, 2019 १९:०४:०० मा प्रकाशित

काठमाडौं- गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा स्पेनका सामाजिक अभियान्ता मुक्तबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए स्पेनको नेतृत्व सफलतापूर्वक सम्हालीसकेका गुरुङले संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्रको लागि उपसंयोजक पदमा स्पेनबासीको माग र चाहनाअनुसार उम्मेदवारी दिएको बताए।

गुरुङले २०१७-२०१९ कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भई एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन्।

डेढ दशकभन्दा लामो समयदेखि विभिन्न सामाजिक संघ संस्था हुँदै एक दशकदेखि एनआरएन अभियानमा गुरुङको प्रत्यक्ष संलग्न रहेको छ।

युरोपभर रहेका एनआरएनए संस्थाहरू भन्दा अग्रस्थानमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी समेत रहेको छ।

आइसिसी सदस्य समेत रहेका मुक्तबहादुर गुरुङले झोलामा रहेको एनआरएनए स्पेनलाई व्यवस्थित बनाएका थिए।

स्पेनमा नेपालीहरूको दिनानुदिन समस्या बढ्दै गएपछि स्पेनबासी नेपालीहरूले दुतावास स्थापना गराउनमा गुरुङको ठूलो योगदान समेत रहेको छ। 

स्पेन पर्यटनको बढी सम्भावना भएकोले नेपाली दूतावाससंगको सहकार्यमा नेपालमा पर्यटन भित्र्याउन सरकारको योजना संगै सबैलाई जोडेर अघि बढ्नुपर्ने अवस्था आफ्नो उम्मेदवारी रहेको दाबी गुरुङले गरेका छन्।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पुर्‍याउने उनको भनाइ छ।