भैरहवा- रूपन्देहीको रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ।
ओमसतिया गाउँपालिका-५ का २५ वर्षीय महेन्द्र चौधरीको गोली प्रहार गरी हत्या गरिएको हो। आइतबार दिउँसो साढे २ तिर चौधरीको हत्या भएको स्थानीयले बताएका छन्।
गोली कसले र किन प्रहार गर्यो भन्ने खुल्न नसकेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
खेती किसानी गर्दै आएका चौधरी भैरहवास्थित बैंकबाट पैसा निकालेर घर जाने क्रममा रहेका थिए।
मोटरसाइकलमा पिछा गर्दै आएका २ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले बताएको छ।
श्रीमती र एक बच्चासहित मोटरसाइकलमा जाँदै गरेका चौधरीको मोटरसाइकल रोकी उनीमाथि गोली प्रहार गरिएको थियो।
उनलाई ३ गोली लागेको छ। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
हत्याराले उनले बैंकबाट निकालेर ल्याएको ५ लाख समेत उनीहरूले लुटेर लगेको बताइएको छ।
अहिले मृतकको शव बाटोमा नै रहेको छ भने सो स्थानको बाटो बन्द हुनका साथै मानिसहरूको भीड छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।