क्यानभासमा इतिहास खोतल्दै ८२ वर्षीय हरिप्रसाद शर्मा

समर्पण श्री | २०७६ भदौ २१ शनिबार | Saturday, September 07, 2019 २१:४४:०० मा प्रकाशित

सात सय वर्षअघि। जब नेपालको वास्तुकलाबाट प्रभावित भएर चीनका एक बादशाहले एक सय कालिगड मगाएका थिए। पछि अरनिको नामले प्रसिद्धि पाएका त्यतिबेलाका १७ वर्षे युवक बलबाहु ८० जना कालिगडको नेतृत्व गर्दै चीन गएका थिए। 

उनै बलबाहुलाई विदाइ गर्दाको त्यो क्षण कस्तो थियो?  

इतिहासमा रुचि राख्नेहरूलाई यो जिज्ञासा हुनसक्छ। मानिसहरूको खँदिलो भीड, वरिपरीका कला कौशल अर्थात् त्यसबेलाका ऐतिहासिक दृश्य। वरिष्ठ चित्रकार हरि प्रसाद शर्माको पेन्टिङ कलाले इतिहासको उही दुर्लभ दृश्य झल्काएको छ। 

आर्ट काउन्सिलस्थित एकल चित्रकला प्रदर्शनीमा राखिए मध्येको एक चित्र हो यो। ७ सय वर्षअघिको पूर्वधार, सामाजिक तथा सांस्कृतिक परिवेश र जीवनशैलीलाई ८२ वर्षीय शर्माको चित्रले जीवन्त बनाएको छ। 

प्रदर्शनीमा ४५ वटा चित्र राखिएका छन्। 

प्रदर्शनीमा राखिएका पेन्टिङले तीन कुरा दर्शाउँछन्- संस्कृति, जीवनशैली र इतिहास। इतिहासका पेन्टिङहरू कालखण्डका हिसाबले क्रमबद्ध राखिएका छन्। राजा अशोकाको लुम्बिनी भ्रमण, मल्लकालीन समयका राजाहरूको जीवनशैली, पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरणको घटना लगायत जंगबहादुर राणाको ऐतिहासिक क्षणलाई शर्माले चित्रमा उतारेका छन्। 

विलीन हुन लागिसकेका पुराना इतिहासलाई शर्माका पेन्टिङले व्यूँताउन प्रयत्नरत देखिन्छन्। इतिहास सँगसँगै काठमाडौं र यसबाहिरका संस्कृति, जीवनशैली उनका चित्रहरूमा दुरुस्तै देख्न सकिन्छ। 

एउटा क्यानभासमा काठमाडौं बाहिरको संस्कृति झल्किरहेको छ। ग्यालरी घुम्दै गर्दा भित्ताको एकापट्टि देख्न सकिन्छ- गुरुङ बस्ती। बस्तीको चित्रले समुदायको पहिचान झल्काउँछ। 'भेडापालन गुरुङको पहिचान हो,' क्यानभासको दृश्यले व्यक्त गर्छ यो कुरा।

उक्त चित्र बनाउँदा चित्रकार शर्मा र छोरा विष्णु शर्मा ती समुदायमा गए। संस्कृति अध्ययन गरे र त्यहाँको विशेषज्ञलाई भेटे। 

अर्को मनमोहक चित्र छ। जसले काठमाडौं उपत्यकाबाहिर हुने बाहुन क्षेत्रीको विवाह पर्वबारे छर्लंगै पार्छ। विशेषत: जीवनशैली र संस्कृति झल्काउने अधिकांश चित्र काठमाडौं उपत्यकाका छन्।

चित्रकार शर्माको जन्म काठमाडौंको लगन गोफलटोलमा भयो। दशकौं अघिको काठमाडौं उनको स्मृतिमा ताजा छ। चित्रहरू केलाउँदै जाँदा प्रस्ट हुन्छन्- पेन्टिङहरू उनका बलिया स्मृति हुन्।  केही यस्ता चित्रहरू छन्। जसमा एउटै चित्र केलाउन जो कोहीलाई घण्टौं लाग्न सक्छ। 

उनको चित्रको बलियो विशेषता हो- प्रस्टसँग सबै कुरा बुझाउन सक्नु।

नेवारी संस्कृतिमा चित्रकार शर्माको विशेष रुचि रहेको चित्रहरूले जनाउँछन्। नेवारी समुदायलाई चित्रण गरिएको एक चित्र छ। जहाँ मानिसहरू राँगो काटेर र पोलेर पकाउँदै छन् अनि अर्कोतिर जात्राको माहोल छ।

उतिबेला मनोरञ्जनका धेरै चिजहरू थिएनन्। टोल टोलमा साँढेहरू हुन्थे। साँढे जुधाइ गरिन्थ्यो। केटाहरू साँढे जम्मा गरेर ल्याइ मनोरञ्जन लिन्थे। केही दशकअघिको उपत्यका कल्चरलाई चित्रले समेटेको छ। 
नेवार समुदायकै एउटा परम्परा थियो- घर घर गएर नङ काट्ने चलन। उक्त समुदायको उच्च जातिको मान्छे आफैंले नङ काट्दैन थिए। नैनी भन्ने जाति नै हुन्थ्यो। 

ती समयका संस्कृति तथा सामाजिक विकृति पनि क्यानभासमा पोतिएका छन्।

एउटा चित्र छ- त्यतिबेला जुवाको खाल। जुवा खेलिरहेको पतिलाई पत्नीले कराइरहेको मौलिक दृश्य।

त्यतिबेलाको शवयात्रामा प्रयोग हुने बाजा र नेवारहरूको मृत्यु संस्कारलाई एउटा चित्रले झल्काउँछ। मान्छेको शवयात्रा हुँदा बाजा बजाएर सबै टोललाई जानकारी गराइने, सम्मानसाथ शवको अन्त्यष्टि गरिने अनौठोलाग्दो दृश्य।

समग्रमा भन्नूपर्दा चित्रकार शर्माको स्मृति नवपिँढीको निम्ति खँदिलो र कालजयी इतिहास समेत हो। 'इतिहासमा रुचि राख्ने र इतिहासका विद्यार्थी ग्यालरी घुम्न आए भने उनीहरूको निम्ति धेरै नयाँ कन्टेन्ट यी चित्रहरूमा छन्,' प्रदर्शनीका संयोजक एवम् शर्माका छोरा विष्णु भन्छन्। 

प्रदर्शनीका चित्रहरू कुनै पनि विक्रीका लागि छैनन्। विक्री गरेर पैसा कमाउने उद्देश्य नभएको विष्णु बताउँछन्। 

शर्माका चित्रहरूप्रति शताब्दी पुरुष सत्यमोहन जोशी परिचित छन्। शर्माका चित्रहरूलाई प्रशंसा गर्दै उनले लेखेका छन्, 'कलाकार हरिप्रसाद शर्माको कला भावना र कल्पनाशीलता दर्शनीय, प्रशंसनीय छ।' 

डा तारानाथ शर्माले माइकल एन्जेलोले रोमको सिस्टम च्यापेलमा बनाएका चित्रहरू भन्दा अनेकौं गुणा स्पष्ट्टता र कलात्मक ढंगले काठमाडौंको वासिन्दाको जीवनचर्या चित्रमा उतारिएको वर्णन गरेका छन्।

बाबु छोराको सहकार्य 

शर्माको चित्र प्रदर्शनी धेरै तवरबाट भिन्न मान्न सकिन्छ। यसलाई भिन्न बनाउने प्रयास गरेका हुन् छोरा विष्णुले। 

पत्नीको मृत्युपछि हरिप्रसाद लामो समय शोकमा रहे। बाबुलाई शोकबाट मुक्त गराउन प्रयत्नरत थिए छोरा विष्णु। 'त्यसपछि बुबासँग मिलेर नयाँ थिममा काम गर्ने हामीले योजना बुन्यौं,' विष्णुले भने।

विष्णु विश्वविद्यालयमा प्राध्यापन गर्छन्। यससँगै उनको प्रयत्न बाबुको क्यानभासका निम्ति कन्सेप्ट उतार्न हुन्छ।

विष्णु र परिवारकै सहयोगमा २५ वर्षदेखि नयाँ थिममा चित्रहरू कोर्ने काममा व्यस्त छन् हरिप्रसाद।सकेसम्म सबै आयाम समेट्न नयाँ ठाउँमा जाने, त्यहाँका मान्छेहरूसँग भेट्ने, फोटोग्राफी गर्ने, विज्ञसँग भेट्ने, इतिहासहरू पढ्ने काम गर्छन् बाबुछोरा। 

त्यसकै आधारमा नयाँ पेन्टिङहरू बनाउँछन्  चित्रकार शर्मा। 'एउटा पेन्टिङ बनाउन करिब ३/३ वर्ष लगाएका छौं। थुप्रै मेहनत गरेका छौं,' ती क्षण सम्झँदै छोरा विष्णु भन्छन्। 
000