‘मारूनी नाच’बारे देख्नु/सुन्नुभएकै होला! यो नेपालको परम्परागत नृत्य हो। यो नृत्यका लागि केटा मान्छेलाई चोलो, गुन्यू, चुरा, पोते, तिलहरी जस्ता महिलाका परम्परागत गहना पहिरिदिएर सुन्दर महिला बनाउने गरिन्छ।
यसरी केटाबाट श्रृंगारिएर केटी बन्ने सुन्दरीलाई गरिने सम्बोधन हो– ‘मारुनी।
शुक्रबारबाट हलमा रिलिज भएको निर्देशक नवल नेपालको फिल्म ‘मारुनी’मा न यस्तो कुनै परम्परागत नाच राखिएको छ, न एकपल्ट यो शब्दको उच्चारण नै गरिएको छ। यद्यपि, फिल्म हेरेपछि प्रस्ट भइन्छ– उनले फिल्मकी प्रमुख पात्र सुमन (साम्राज्ञीराज्य लक्ष्मी शाह)लाई बिम्बात्मक रुपमा ‘मारुनी’ भन्न खोजेका हुन्।
पछिल्लो समय धेरैजसो नेपाली फिल्मले आफ्नो कथामा तेश्रो लिङ्गी पात्र समेटिरहेका छन्। तर, अधिकांश त्यस्ता फिल्ममा तेश्रो लिङ्गीलाई समेट्नुको ध्येय भने अर्कै छ, उनीहरूको मजाक उडाएर दर्शकमा हास्य सिर्जना गर्ने।
यो मानेमा नवलको ‘मारुनी’ अरुभन्दा अलग छ। यो फिल्म खासगरी तेश्रो लिङ्गीको कथा हो। यहाँ नवलले तेश्रो लिङ्गीको भावना र संवेदनालाई मजाकका रुपमा प्रस्तुत गरेका छैनन्, यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो।
फिल्मभित्र तीन पात्र छन्, यश (पुष्प खड्का), राज (आयुश प्रधान) र मधु (रेबिका गुरुङ)। यश र राज भने बाल्यकालदेखिकै साथी हुन्। मधुचाहिँ कलेजबाट थपिएकी साथी। राज बाल्यकालदेखि नै यशलाई असाध्यै प्रेम गर्छन्, अथाह हेरचाह गर्छन्।
धनाढ्य बाबुका छोरा हुन्छन् राज। यशलाई कसैले जिस्काएको उनी सहन सक्दैनन्। बाबुले आफ्ना लागि किन्दिएको मोटरसाइकल यशलाई कुदाउन दिन्छन्। यशको यतिसम्म ख्याल गर्छन् कि परीक्षामा ऊ फेल नहोस् भने आफ्नो ढाड पछाडि चिट चेपेर आउँछन्।
यता यशले राजको त्यो भावना बुझेका छैनन्। उनी बिन्दास छन्। मधुसँग उनको हिमचिम बढिरहेको छ। मधु उनलाई मन पराउन थालिसकेकी छन्। आफूले बाल्यकालदेखि प्रेम गर्ने साथी युवतीसँग नजिकिएको राजलाई असह्य हुन्छ।
यशले मधुलाई उनको जन्मदिनमा राजले दिएको ब्रासलेट उपहार दिएपछि बर्थडे पार्टीमै उनीहरूबीच सामान्य भनाभन हुन्छ। त्यसपछि राज एकाएक हराउँछन्। यता यशले राज हराउनुको दोष मधुलाई दिन्छन्। मधुको प्रेम पनि उनले सिधै अस्वीकार गर्छन्।
केही वर्षपछि राज आफ्नो लिंग परिवर्तन गरेर स्वदेश फर्कन्छन्, यशलाई पाउने आशामा। सफल होलान् त उनी? उता मधुको के हुन्छ? राजको वास्तविकता थाहा पाएपछि यशको प्रतिक्रिया के हुन्छ? फिल्म यिनै प्रश्नहरूको जवाफ हो।
नेपाली फिल्ममा यो पटकथा विल्कुल ताजा हो। एउटा तेश्रोलिङ्गी पुरुषले आफ्नो प्रेम पाउनका लागि गर्ने हदैसम्मको पागलपनको कथा हो ‘मारुनी’। हाम्रोजस्तो समाजमा तेश्रोलिङ्गीको भावना र संवेदना कसरी कुन्ठित भइरहेको छ, ‘राज’ अर्थात् ‘सुमन’ त्यसको उदाहरण हुन्। फिल्मको दोश्रो भागपछि पटकथामा आउने ट्विस्टहरू गज्जब छन्।
यद्यपि, कथावाचनका कतिपय सन्दर्भ र मोडहरूमा पटकथा सतही प्रतित हुन्छ। अझै विस्तृत महसुस गराउन सकिन्थ्यो। आफ्नो भावना मनभित्रै कुन्ठित पारेर राख्नुपर्दाको राजको संवेदनालाई अझै गहिराइमा देखाउन सकिन्थ्यो।
रेस्टुरेन्टमा रक्सीले झ्याप भएर राम्रोसँग उभिइन पनि नसकेको पात्र हिरोइनलाई गुन्डाहरूले आक्रमण गरेपछि अचानक ‘फ्रेस’शैलीमा फाइट खेलेर हिरोइन बचाउने दृश्य अब परम्परागत भइसक्यो, त्यसैले निर्देशक यसमा सचेत हुनुपर्ने देखिन्छ।
फिल्मको नाम बिम्बात्मक हिसाबले राखिए पनि दृश्यहरूमा भने कतै बिम्बको प्रयोग पाइँदैन। फिल्मको सुरुवातमै देखिने फिल्मकी निर्मात्री पुनम क्षेत्री गौतमको दृश्य अभिनयको रहरमै सीमित छ।
निर्मात्री पुनम पेशाले फेसन डिजाइनर हुन्। त्यसैले यो फिल्ममा उनको शिल्प भरपुर प्रयोग छ। दृश्यैपिच्छे पात्रहरू नयाँ र फेसनेबल पहिरनमा देखिन्छन्। यद्यपि, फिल्म पहिरनहरुको प्रदर्शन होइन, फिल्मलाई राम्रो बनाउने त पटकथा र अभिनयको सुन्दर प्रस्तुतिकरणले नै हो।
फिल्मको सिनेमाटोग्राफी कथाको मर्मअनुसार ठीकै छ। साम्राज्ञी पुष्पको घरबाट फर्किँदै गर्दा लिइएको सर्ट साँच्चै ‘वाह’ भन्न लायक छ। ‘सक्दिन म बाँच्न’ गीत श्रुतिमधुरमात्रै छैन्, यसले पूरा फिल्मको कथाको मर्म पनि बोलेको छ।
यो फिल्मको सबैभन्दा झर्कोलाग्दो पक्षचाँहि ध्वनि (साउन्ड) नै हो। फिल्मको सुरुदेखि अन्त्यसम्म बज्ने अनेक तर उही शैलीका रुन्चे ध्वनि कर्कशलाग्दा छन्। फिल्म हेर्दा ध्वनि र दृश्यबीच हुने अन्तरसम्बन्धबारे निर्देशकको अल्पज्ञान महसुस हुन्छ। ध्वनि आफैंमा फिल्मको महत्वपूर्ण पात्र हो र यसले पटकथाको मर्मलाई बोक्छ भन्ने सत्यबारे निर्देशक सचेत हुनुपर्ने देखिन्छ।
पछिल्ला फिल्ममा कमजोर अभिनय प्रस्तुत गरेर दर्शकलाई निराश बनाइरहेकी साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय यो फिल्ममा सुधारिएको छ। ग्ल्यामरस हिरोइनको पहिचान बोकेकी साम्राज्ञीका लागि पृथक र चुनौतीपुर्ण थियो, ‘सुमन’को भूमिका। यसमा उनी स्वभाविक देखिएकी छिन्।
म्यूजिक भिडियो हुँदै फिल्ममा छाएका पुष्पको अभिनय भने कमजोर देखिन्छ। कतै–कतै अस्वभाविक नै महसुस हुन्छ। ‘डार्लिङ एक्टर’बन्ने मोहबाट उनै टाढै बसेको राम्रो।
दुई नयाँ अनुहार आयुष प्रधान र रेबिका गुरुङले भने फिल्म क्षेत्रमा जम्ने सम्भावना देखाएका छन्। दुवै आ–आफ्नो चरित्रमा फिट छन्।
समग्रमा भन्नुपर्दा तेश्रोलिङ्गीको भावनामाथि मजाक नउडाइकन भनिएको प्रेम कथा हो, ‘मारुनी’। यसमा कमजोरी त छन्, यद्यपि निर्देशकले आफूले भन्न खोजेको कथा इमान्दार साथ भनेका छन्। बाँकी हेर्ने÷नहेर्ने त्यसको निर्णायक त दर्शक नै हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।