गैरआवासीय नागरिकतासँगै पासपोर्ट दिने व्यवस्था पनि हुनु पर्छ : एनआरएन उपाध्यक्ष आचार्य

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 २०:४९:०० मा प्रकाशित

टोरन्टो- गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतासँगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्ने बताएका छन्।  

शनिबार टोरोन्टोमा आयोजित एनआरएन क्यानडाको १२औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले संसदको राज्य व्यवस्था समितिमा भएको छलफलपछि आशंका उब्जिएको बताउँदै कानून नबन्दासम्म यसका लागि प्रयास जारी राख्न, चनाखो रहन र लबिङ गरिरहन आग्रह पनि गरे।

'गैरआवासीय नेपाली नागरिकता ऐनमा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ। त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ। भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यवस्था हुनुपर्छ,' उनले भने।  

आचार्यले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुबाट पनि निवेदन दिन सकिने व्यवस्था मिलाउनु पर्ने,  तीन पुस्तालाइ मात्रै दिने प्रावधान खारेज गर्नुपर्ने र भाषाको अनिवार्यता हटाउन आवश्यक रहेको बताए। 

गैरआवासीय नेपालीहरुले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, जलश्रोत आदि क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको लगानी गरिसकेको बताउँदै आचार्यले नेपालको विकास र रुपान्तरणका लागि बौद्धिक लगानी पनि त्यत्तिकै महत्वपूर्ण हुने बताए।

'नेपालमा बौद्धिक लगानीको कुरा गर्दा हामीले प्रमोद ढकाल जस्ता अभियन्तालाई बिर्सन हुंदैन, उहाँहरुको सम्मान गर्ने वातावरण बनाउनु पर्छ,' उनले भने। 

आचार्यले आगामी अक्टोबर महिनामा काठमाडौँमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताइसकेका छन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र डालसको भ्रमणपछि उनी शुक्रबार टोरन्टो पुगेका थिए। 

कार्यकाल पूरा गर्न लागेका एनआरएन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहलगायतका वक्ताले शुभकामना दिएका थिए। 

१२औं साधारणसभाले चिरन्जीवी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति पनि गठन गरेको छ।