काठमाडौं– नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका ९ बैंक तथा वित्तीय संस्थाले अझै २ अर्ब २१ करोड रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार समस्याग्रस्त ९ वटा बैंकले १० अर्ब ६३ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेमा गत पुससम्ममा ८ अर्ब ४१ करोड निक्षेप फिर्ता गरेका छन्।
हाल ९ मध्ये ७ फाइनान्स कम्पनी र २ वटा विकास बैंक राष्ट्र बैंकको समस्याग्रस्त सूचीमा छन्। यी बैंकले फिर्ता गर्न बाँकी निक्षेपमध्ये संस्थागत निक्षेपकर्ताको १ अर्ब १९ करोड र व्यक्तिगत निक्षेपकर्ताको ३६ करोड रुपैयाँ छ। यसैगरी, मुद्दति निक्षेपमा भने ६६ करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ।
कसले कति फिर्ता गर्नुपर्ने
समस्याग्रस्त बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ८४ करोड ४२ लाख रुपैयाँ निक्षेप फर्काउन बाँकी छ। यसैगरी, सबैभन्दा कम कुबेर मर्चेन्ट फाइनान्सले ७ करोड १३ लाख रुपैयाँ फिर्ता गर्न बाँकी छ।
यसैगरी, नेपाल सेयर मार्केटले ४७ करोड, क्रिस्टल फाइनान्सले २७ करोड ९९ लाख, नारायणी डेभलपमेन्ट बैंकले १७ करोड २८ लाख, ललितपुर फाइनान्सले १० करोड ९४ लाख, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले १० करोड ७३ लाख, नेपाल फाइनान्सले ८ करोड २६ लाख, कर्पोरेट विकास बैंकको ७ करोड ७२ लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ।
समस्याग्रस्तको संख्या घट्दै
राष्ट्र बैंकले छुट्टै विभाग गठन गरेर समस्याग्रस्त संस्थाहरुको अनुगमन गर्दै आइरहेको छ। केन्द्रीय बैंकले १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा खारेजी, मर्जर तथा एक्विजिसन र नयाँ लगानीकर्ताको प्रवेशसँगै समस्याग्रस्त कम्पनीहरुको संख्या घट्दै गएको छ।
यसअघि नै नेपाल विकास बैंक, सम्झना फाइनान्स र हिमालयन फाइनान्स खारेजीमा गइसकेका छन्। यसैगरी, गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग मर्ज भई सञ्चालनमा छ। जनरल फाइनान्समा पनि नयाँ लगानीकर्ताले लगानी गरेपछि समस्याग्रस्तबाट मुक्त भई बेस्ट फाइनान्सको नामबाट सञ्चालित छ।
बाँकी रहेका समस्याग्रस्त कम्पनीहरुमा पनि थप पैसा हाल्न नयाँ लगानीकर्ताको प्रस्ताव आएको र यसबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।