काठमाडौं- वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ आज वृक्षारोपण गरिने भएको छ।
आगामी आर्थिक वर्ष २०७६/०७७ लाई 'वृक्षारोपण वर्ष'को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण हुन लागेको हो। वृक्षारोपणको शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबीच कोटेश्वरमा उद्घाटन गर्नेछन्।
त्यसक्रममा सभामुख कृष्णबादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु लगायतले पनि वृक्षारोपण गर्नेछन्।
९ क्लस्टरमा वृक्षारोपण
वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा 'क्लस्टर' निर्धारण गरेको छ। जसमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एन्ड बी अस्पताल अगाडिसम्म, बी एन्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म ९ वटा केन्द्र तोकिएका छन्।
कुन–कुन प्रजातिका बिरुवा रोपिन्छन्?
वृक्षारोपणका अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन्।
जसमा हालसम्म पत्ता लागेकामध्ये संसारकै सबैभन्दा पुरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन्।
उत्सवका रुपमा वृक्षारोपण
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार सुरु हुन लागेको वृक्षारोपण अभियान एक वर्षसम्म जारी रहने बताए।
उनले आगामी एक वर्षलाई वृक्षारोपण उत्सवका रुपमा मनाइने उल्लेख गरे। आगामी एक वर्षभित्र काष्ठ/गैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब ५ करोड बिरुवा रोप्ने तयारी भएको बताए।
देशभरका सरकारी नर्सरीहरुमा हाल करिब दुई करोडभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेको बताउँदै उनले बाँकी बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेको र उनीहरुसँग खरिद गरिने जानकारी दिए। उनले एक वर्षभित्र रोपिएका सबै बिरुवाको अखिभेलसमेत राखिने स्पष्ट गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।