काठमाडौं– वयोवृद्ध भइसकेका पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा हत्या भएको तीन हप्ता बढी भयो। ३ भदौको राति चक्कु प्रहारबाट ८० वर्षीय झाको निर्मम हत्या भएको थियो। तर, प्रहरीले अहिलेसम्म पनि हत्याको कारण र अपराधी पत्ता लगाउन सकेको छैन।
अघिल्लो हप्ताजस्तै यसपटक पनि हामीले पूर्वराजदूत झाको रहस्यमयी हत्याबारे अनुसन्धान कहाँ पुग्यो भनेर प्रहरीलाई सोधेका छौं। अघिल्लो पटक प्रहरीले हामीसँग ‘हत्या गरिएकाका आफन्त र परिवारका सदस्य समेत अनुसन्धानको लेन्सभित्र रहेको’ जानकारी दिएको थियो। भनेको थियो, ‘अनुसन्धान छिटोभन्दा छिटो टुंगोमा पुग्नेमा आशावादी छौं।’
तर बुधबार साँझसम्म पनि प्रहरीले अपराधको गुत्थी पहिल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा अपेक्षाकृत प्रगति हुन नसकेको बताएको छ।
घटनाको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ। महाशाखाको नेतृत्व गरिरहेका एसएसपी धीरजप्रताप सिंहले अनुसन्धानको कार्यभार आफ्ना विश्वास पात्र एसपी सोमेन्द्र राठौरलाई सुम्पेका छन्।
‘त्यो हत्या रहस्यमय थियो भन्ने कुरामा कुनै शंकै रहेन तर अनुसन्धानले कसले हत्या गरेको हो भन्ने प्रतिफल निकालिसकेको छैन’ महाशाखाका एसएसपी सिंहले अनुसन्धानबारे नेपाल लाइभसँग भने, ‘हामीले अनुसन्धानको गति भने रोकेका छैनौं। निरास नै भइसकेका छैनौं।’
प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ३५ जनासँग सोधपुछ भइसकेको बताएको छ। यसमध्ये कतिपय त परिवारका सदस्य र आफन्तहरु भएको उसको भनाइ छ। र, अझै पनि परिवारका सदस्य र आफन्तहरुलाई अनुसन्धानको घेरामा राखिराखेको बताएको छ।
घटनाको दुई दिनअघि मात्र विदेश फर्केका झाका छोरा बुहारी पनि घरमा भएको हत्याको घटना थाहा पाएपछि नेपाल फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी थिए। यो बीचमा बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा अहिलेसम्म नेपालमै छन्।
झाको परिवारमा छोरा बुहारीका अलवा श्रीमती र एक छोरी पनि छन्। छोरी डा. राजश्री झा स्त्री रोग विशेषज्ञ हुन्। संयुक्त राष्ट्रसंघअन्तर्गत इस्ट टिमोरमा कार्यरत छोरी राजश्री पनि बुबाको हत्यापछि नेपालमै छिन्।
घटना लगत्तै प्रहरीले पूर्वराजदूत झाको घरमा सहयोग गर्ने र मालीको काम गर्ने तीन जनालाई सोधपुछका लागि प्रक्राउ गरेको थियो। अघिल्लो हप्ता मात्र उनीहरु तीन जनाको ‘पोलिग्राफ’ परीक्षण गरिएको थियो।
तर प्रहरीले निरन्तर सोधपुछ पछि पनि उनीहरुबाट घटनाको ‘क्लू’ पत्ता लगाउन असमर्थ भयो। पक्राऊ परेका तीन जनाको म्याद अब तीन दिन बाँकी छ। ‘प्रमाण नपुगेका कारण उनीहरु अब तारेखमा छुट्न सक्छन्’ अनुसन्धानमा संलग्न एक प्रहरीले हामीसँग भने, ‘हामीमाथि अनुसन्धानको दवाव भने बढ्दै गएको छ। यो चुनौति कहाँ पुगेर सामना हुन्छ भन्न सकिन्न।’
एकजना बयोवृद्ध कुटनीतिकज्ञको यति निर्मम हत्या हुँदा पनि कतैबाट प्रहरीलाई अनुसन्धानका लागि दबाव सृजना भएको छैन। कारण के हो भने, देशमा कञ्चनपुर प्रकरण जस्तो गम्भिर अपराध स्वयं प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ। र, नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर छ।
यति हुँदाहुँदै पनि प्रहरी स्वयंले उपत्यकाभित्रका एकदम कम रहस्यमय घटनामध्ये एक भनेर व्याख्या गरेको पूर्वराजदूत झा हत्याकाण्डको अनुसन्धानमा कुनै प्रगति नहुनु आफैंमा आश्चर्य हो।
घटनास्थलबाट जे जे सामग्रीहरु प्रमाणका रुपमा संकलन गरिएको थियो, त्यसको आधारमा प्रारम्भिक अनुसन्धानबाट प्रहरी हत्यारासम्म पुग्नेमा आशावादी थियो। तर त्यस्तो भएन। चक्कु जुन पूर्वराजदूत झाको टाउकोमा प्रहार भएको भनिएको छ, त्यसको ‘ल्याव टेष्ट’ गर्दा त्यसमा कसैको ‘फिङ्गर प्रिन्ट’ भेटिएन।
‘सम्भवत पञ्जा लगाएर हत्या गरिएको हो, बरामद भएका पञ्जाहरुमा दह्रो प्रमाण सामग्री बनेनन्’ अनुसन्धानमा सहभागी एक प्रहरीले अघिल्लो हप्ता नै नेपाल लाइभसँग भनेका थिए, ‘अब हामीले अनुसन्धानको दायरालाई अलिक फराकिलो पार्दै छौं।’
तर अहिलेसम्म पनि अनुसन्धानको सुई सही दिशामा छ कि छैन भन्नेमा प्रहरी अन्योलमा छ। प्रहरीले अपराधमा देखिएका कतिपय जटिलताहरु छिमल्न सकेको छैन। सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे, झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्, कसैसँग पनि रिसइवी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? र घरमा रहेको कुकुर त्यो रात किन भुकेन भन्ने जस्ता प्रश्नहरुले प्रहरी आफैंमा अचम्भित छ।
‘यति हुँदाहुँदै पनि अनुसन्धान रोकिएको छैन, परिवारभित्रका सम्बन्ध र अरु पक्षहरुबारे पनि हामीले सोधखोज र विश्लेषण गरिरहेका छौं’ प्रहरीले भनेको छ, ‘घटना रहस्यमय नै हो, केही समय लाग्ला तर कुनै न कुनै निष्कर्षमा भने पुगिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।