ad

पूर्वाधारबिनै विमानस्थल थप्ने हतारो, आन्तरिक उडानले निरन्तरता पाउने सम्भावना कति?

Nepal Live

काठमाडौं- गत चैत १६ मा सय दिने कार्ययोजना सार्वजनिक गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आन्तरिक विमानस्थलको सुधार तथा उडानलाई प्राथमिकतामा राखेका थिए। विमानस्थल भएका जिल्लाहरुमा विमान पुर्‍याउने र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता थियो।

केही विमानस्थलमा मन्त्री अधिकारी आफै सहभागी भई परीक्षण उडान पनि गराए। तर गुल्मीको रेसुंगा, इलामको सुकिलुम्बा–फाल्गुनन्द, अछामको साँफेबगर, बाग्लुङको बलेवा जस्ता विमानस्थलमा भौतिक संरचनाले अझै पूर्णता पाएको छैन। 

रेसुंगा विमानस्थलको धावनमार्गमा घाम लाग्दा बुङ्बुङ्ती धुलो उड्छ भने झरी पर्दा हिलो। विमानस्थलमा न तारजाली हालिएको छ न त टर्मिनल भवन नै बनेको छ। सुरक्षा पोस्टसमेत स्थापना भएको छैन। 

एउटा विमानस्थल सञ्चालनका लागि नभई नहुने पूर्वाधार निर्माणबिना उडान–अवतरण कति व्यावहारिक र सम्भव होला भन्ने प्रश्न उठेको छ। यी विमानस्थलमा भौतिक संरचनालाई पूर्णता दिन पर्याप्त बजेटसमेत छैन।

हालै पर्यटनमन्त्री अधिकारीले उद्घाटन गर्दै हिँडेका कतिपय विमानस्थलको अवस्था रेसुंगाको तुलनामा धेरै राम्रो छैन।

रेसुंगा विमानस्थल प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पर्छ। उक्त विमानस्थल २०६३ असार २५ मा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए। १२ वर्षपछि यहाँ गत जेठ २५ मा तारा एयरको विमानको परीक्षण उडान गरियो। दसैंपछि नियमित उडान गरिने बताइए पनि अत्यावश्यक भौतिक संरचना निर्माण नसकिएकाले उडान अनिश्चित बनेको छ। आन्तरिक उडानका लागि भन्दै पर्यटनमन्त्री अधिकारी भने विभिन्न जिल्लामा नयाँ गन्तव्य थप्दै गएका छन्। 

राजविराज विमानस्थलमा हवाई सेवा उद्घाटन गर्न पुगेका पर्यटनमन्त्री अधिकारी


२०३० देखि नियमित उडानमा आएको बागलुङस्थित बलेवा विमानस्थल २०४८ पछि पूर्ण रुपमा बन्द भएको थियो। गत चैत ९ देखि विमानस्थल सञ्चालनमा त आयो तर घाँसे मैदानका रुपमा रहेको विमानस्थलका कारण भौतिक संरचना विस्तार तत्कालको आवश्यकता देखिएको छ। विमान/यात्रुको सुरक्षा तथा धावनमार्ग कालोपत्र गर्न गम्भीरतापूर्वक ध्यान दिइएको छैन।

२०५४ देखिको प्रयासपछि इलाममा जेठ २१ गते पहिलोपटक परीक्षण उडान भयो। इलाम नगरपालिका ९ अवस्थित फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा पहिलोपटक विमान अवतरण गरेको थियो।

परीक्षण उडान भएलगत्तै मन्त्री अधिकारीले निर्माण सम्पन्न भएको जनाउँदै ट्विटसमेत गरे।

अधिकारीको ट्विटमा उल्लेख गरे पनि कच्ची धावनमार्गमा कालोपत्रे लगायत अन्य संरचना विस्तारका लागि निकै लगानी र समय खर्च गर्नुपर्ने देखिन्छ। टावर, कम्पाउन्ड, सेक्युरिटी पोस्ट, तारजाली लगायतका आधारभूत पुर्वाधार बनिसकेको छैन।

७ सय मिटर धावनमार्ग रहेको विमानस्थलका लागि सांसद, जिविस, नगरपालिका, स्थानीय नेता र सर्वसाधारणको खर्चबाट जग्गा किनिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए। विमानस्थलका लागि २६७ रोपनी जग्गा छुट्याइएको छ। ‘नियमित उडानका लागि नागरिक उड्ययन प्राधिकरणको जति छिटो भौतिक संरचना निर्माण गर्छ, नियमित उडान त्यसमै निर्भर हुन्छ,’ उनले भने, ‘अहिले त नागरिकको नाताले प्लेन आएको हेर्ने काम मात्रै हो।’

इलामको सुकिलुम्बा विमानस्थल


हालसम्म विमानस्थलका लागि २० करोडजति खर्च भएको हुन सक्ने उनी बताउँछन्। भौतिक संरचना निर्माण नसकिएका कारण यहाँ नियमित उडान कहिलेदेखि हुने भन्ने टुंगो छैन। बस्नेतका अनुसार विमानस्थल अहिले धुले सडकका रुपमा सीमित छ। 

राजविराजमा तोकिएको मितिमा उडान हुन सकेन 
पर्यटनमन्त्री अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलवाट नियमित हवाई सेवा सुरु हुने बताए पनि तोकिएको मितिदेखि नियमित उडान हुन सकेन।

यात्रु प्रस्थान कक्ष, प्रतीक्षालय र कुनौली सडकदेखि विमानस्थलसम्म पुग्ने करिब एक किलोमिटर सडक मर्मत नभएका कारण तोकिएकै मितिमा विमान उडान तथा अवतरण हुन नसकेको हो। राजविराज विमानस्थल निर्माण योजनाका प्रमुख रामएकवाल महतोले केही सयमैमै सम्पूर्ण तयारी पूरा गरेर नियमित विमान सेवा सुचारु हुने दाबी गरेका थिए।

 राजविराज विमानस्थल


असार १० गतेदेखि मात्र यहाँ श्री एयरलाइन्सले उडान भरिरहेको छ।

२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थल कच्ची धावन मार्गका कारण २०५२ बैसाखदेखि अवरुद्ध थियो। १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण सम्पन्न भएपछि जेठ १० गते मन्त्री अधिकारी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले संयुक्त रुपमा सेवा सञ्चालनको उद्घाटन गरेका थिए।

रेसुंगामा विमान पुगेको छ, तर पूर्वाधार बन्न सकेको छैन। २७ वर्षदेखि बन्द रहेको बागलुङस्थित बलेवा विमानस्थल नियमित गर्ने प्रक्रिया सुरु गरिए पनि प्रभावकारितामा कमी देखिएको छ। उडान क्षेत्रमा बढोत्तरी आए पनि पूर्वाधारलाई प्राथमिकतामा पारेको दैखिँदैन।

बागलुङको बलेवा विमानस्थल


पूर्वाधार नपुगेका स्थानमा विमानको दीर्घकालीन उडान कति सम्भव छ? कतिपयले चर्चाकै लागि हतारमा परीक्षण उडानमा मन्त्री अधिकारीले चासो राखेको बताउँदै आएका छन्। विमानस्थलको संख्या बढाउने ‘मनोकांक्षा’ले मूर्तरुप प्राप्त गर्नेमा  भने धेरैका सन्देह पैदा भएको छ। 

‘भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकतामा नराखी परीक्षण उडानलाई महत्व दिएको’ मन्त्री माथि बागलुङ नगरपालिकाका कांग्रेस नेता बसन्तकुमार श्रेष्ठको आरोप छ। विमानस्थलहरुमा उडानको निरन्तरता, भौगोलिक वस्तुस्थिति, सुरक्षा, टावर, धावन मार्गको क्षेत्रफल लगायतका विषयमा पूर्व अध्ययनलाई ‘कम महत्व’ दिइएको उनले बताए। 

साताको दुईपटक उडान हुने भनिएको बलेवामा नियमित उडान हुन सकेको छैन। अर्कोतर्फ परीक्षण उडानमा सीमित रेसुंगा विमानस्थल धुले धावनमार्गमा सीमित छ। असोजदेखि नियमित उडान गर्ने भनिएको विमानस्थलमा हालसम्मको पूर्वाधार विकास हेर्दा उक्त समयमा नियमित उडानको सम्भावना कम देखिन्छ। 

गुल्मीको रेसुंगा विमास्थल


पूर्वाधारमा जोड नदिईकन उडानलाई महत्व दिइरहेको समाचार आइरहेको समयमा धरातलीय यथार्थ बुझ्नका लागि नेपाल लाइभ टिमले स्थलगत रिपोर्टिङ गरेको छ। भौतिक पूर्वाधार, भौगोलिक अवस्था, प्राविधिक पक्ष तथा विमानस्थलहरुको धरातलीय यथार्थ लगायतका विषयमा हामीले विभिन्न विमानस्थल पुगेर त्यहाँका सरोकारवालासँग कुरा गरेका छौं। बाँकी स्टोरीमा क्रमश: प्रकाशन गर्दै जानेछौं।

प्राप्त प्रतिकृयाहरू

Manish Sitaula
सब पैसा खाएर यस्तो भइराको हो । चर्चाको लोभ । पुर्बाधार बिना कसरी चल्छ एयरपोर्ट

Dibesh Shah
Ramro Reorting

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्