नेपालले बलियो टिम चाइनिज ताइपेईलाई बराबरीमा रोक्यो

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 १८:४६:०० मा प्रकाशित

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्दी चाइनिज ताइपेइलाई बराबरीमा रोकेको छ। ताइपेईमा भएको खेल १–१ को बराबरीमा सकिएको हो।

खेलमा अग्रता भने चाइनिज ताइपेईले लिएको थियो। पहिलो हाफ सकिन ५ मिनेट बाँकी छँदा ताइपेईका चुन चिनले गोल गरेका थिए।

नेपालले ६७ मिनेटमा बराबरी गोल फर्कायो। नेपालका लागि युवा फरवार्ड अभिषेक रिजालले गोल गरे। उनले सन्तोष तामाङको फिकिङमा हेडमार्फत गोल गरेका थिए।

गत आइतबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई मलेसियाले २–० गोलले पराजित गरेको थियो।

फिफा वरीयतामा ताइपेई १ सय २५ स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ।

नेपालले मैत्रीपूर्ण खेललाई विश्वकप छनोट र एसिया कप छनोटको तयारीको रुपमा लिएको छ। 

फिफा वरियताको आधारमा नेपाल सिधै दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरण आगामी सेप्टेम्बरदेखि हुँदैछ।

फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा पुगेको थियो।

विश्वकपको पहिलो चरणमा एसियन वरियतामा ३५ देखि ४६ औं वरियतामा पर्ने १२ टिमले प्रतिस्पर्धा गर्ने प्रावधान छ। होम एण्ड अवेको आधारमा हुने पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।

नेपाल एसिया वरीयताको ३४औं स्थानमा रहँदै दोस्रो चरणमा पुगेको थियो।

दोस्रो चरणमा एसिया वरियताको शीर्ष ३४ र पहिलो चरणबाट छनोट भएर आउने ६ टिम गरी ४० टिमले प्रतिस्पर्धा गर्नेछन्।

४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा पाँच टिम हुनेछन्। होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ। त्यस्तै, यही १२ टिमले एसिया कप खेल्नेछन्।