इस्ट दिल्लीबाट चुनाव जित्दै क्रिकेटर गाम्भिरको लोकसभामा डेब्यू

नेपाल लाइभ | २०७६ जेठ ९ बिहीबार | Thursday, May 23, 2019 १७:५४:०० मा प्रकाशित

नयाँदिल्ली- भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनर गौतम गाम्भिरले भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन्।

दिल्लीको इस्ट दिल्ली क्षेत्रबाट बनेका गाम्भिरले ३ लाख १० हजार ०६ मत ल्याएर जित हासिल गरेका हुन्। उनी भारतीय जनता पार्टीबाट उठेका थिए। गाम्भिरका निकटतम प्रतिद्वन्द्वी भारतीय कांग्रेस पार्टीका अरभिन्दर सिंह लभ्लीले १ लाख ५३ हजार २ सय ७९ मत ल्याए। योसँगै गाम्भिरले लोभसभामा 'डेब्यू' गरेका छन्। 

चुनावअघि गाम्भिर र आम आद्मी पार्टीकी अतिसीबीच ठूलो विवाद भएको थियो। अतिसीले गाम्भिरले गलत पमप्लेट बनाएको भन्दै विरोध गरेकी थिइन्।

३७ वर्षीय गाम्भिर गत महिना मात्र भारतीय जनता पार्टीमा आवद्ध भएका थिए। उनलाई मन्त्री अरुण जेट्ली र रविशंकर प्रसादले पार्टीमा भित्र्याएका थिए। 

त्यसअघि उनले सन् २०१८ को अक्टोबरमा क्रिकेटबाट संन्यास लिएका थिए। सन् २००३ मा भारतीय टिममा डेब्यू गरेका गाम्भिरले सन् २०११ को विश्वकप भारतलाई दिलाउन उत्कृष्ट खेलेका थिए।

उनले भारतका लागि ५८ टेस्ट, १ सय ४७ एकिदवसीय र ३७ टी–२० खेल खेलेका छन्। त्यसक्रममा उनले टेस्टमा ९ शतक र एकदिवसीय खेलमा ११ शतक प्रहार गरेका थिए।