सिपिएलको ड्राफ्टमा सन्दिपसहित चार नेपाली खेलाडी

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 २१:०३:०० मा प्रकाशित

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता प्रतियोगिताको ड्राफ्टमा नेपालका चार जना खेलाडी दर्ता भएका छन्। आगामी जेठ ८ मा लन्डमा हुने खेलाडी छनोटका लागि नेपालका चार जना खेलाडी सूचीकृत भएका हुन्।

नेपालबाट सन्दीप लामिछाने दोस्रो पटक परेका छन्। सन्दीपसहित नेपालका तिव्र गतिका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेको सिपिएलको आधिकारिक वेभ पोर्टलमा उल्लेख छ।

ड्राफ्टमा नेपालका चार खेलाडीसहित २० देशका ५ सय ३६ खेलाडी छन्। जसमा अफगानिस्तानका रासिद खान, इंल्यान्डका एलेक्स हल्स, बंगलादेशका सकिब अल हसन, दक्षिण अफ्रिकाका जेपी डुमिनी लगायत छन्।

सिपिएलमा रहेका टिमहरुले अघिल्लो सिजन खेलेका खेलाडी राख्ने वा नयाँ खेलाडी भित्र्याउन सक्नेछन्। टिमहरुले बढीमा ६ खेलाडी भित्र्याउन सक्नेछन्। एक टिममा कम्तिमा ३ खेलाडी वेस्ट इन्डिजका हुनु पर्नेछ। यस्तै बढीमा १ खेलाडी विदेशी राख्न पाइनेछ। टिममा एक मार्की खेलाडी रिटेन गर्न वा भित्र्याउनु पर्नेछ। यस्तै १ खेलाडी अमेरिकन हुनु पर्ने प्रावधान छ। 

टिमहरुले रिटेन गरिएको खेलाडी ड्राफ्ट हुनुअघि उपलब्ध गराउनु पर्नेछ। 

गत  संस्करणमा नेपालका युवा लेगस्पिनर सन्दीप सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भएका थिए।

सिपिएल आगामी ४ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।