विराटनगर- नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले नेपालका लागि दोस्रो बढी अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबरी गरेकी छिन्।
साम्बाले बढी गोल गर्ने सूचीको दोस्रो स्थानमा रहेकी जमुना गुरुङको रेकर्डसँग बराबरी गरेकी हुन्। साम्बाले बुधबार पाँचौ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध गोल गरेकी हुन्। सेमिफाइनलको यो खेलमा नेपालले ४-० को जित निकालेर चौथो पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको थियो। अब नेपालले उपाधिका लागि शुक्रबार भारतसँग भिड्दै छ।
योसँगै एपिएफकी खेलाडी सावित्राले २५औं अन्तर्राष्ट्रिय गोल गर्न सफल भइन्। सावित्राले २६ अन्तर्राष्ट्रिय खेल खेल्दै २५ गोल गरेकी हुन्। २२ वर्षीय भण्डारीले जारी साफमा अहिलेसम्म ३ गोल गरिसकेकी छिन्।
नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी अनु लामा हुन्। लामाले ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। लामा जारी च्याम्पियनसिपका लागि भने नेपाली टिममा पर्न असफल भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।