काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाका लागि मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर ४ दर्जन बढी सुरक्षाकर्मीहरु नियमित रुपमा परिचालित छन्। तर उनै प्रचण्डको सुरक्षामाथि खतरा रहेको चर्चा बारम्बार दोहोरिने गर्छ।
पछिल्लो पटक उनी आफैंले आफ्नो ‘हत्याको षड्यन्त्र’ भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन्। यसअघि पटक उनको सुरक्षाको विषयलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धका सुप्रिम कमाण्डर हुन् प्रचण्ड। जनमुक्ति सेनाको नेतृत्वदेखि शान्तिप्रक्रियामार्फत सशस्त्र संघर्षको ‘सेफ ल्याण्डिङ’ हुँदै २ पटकसम्म नेपालको प्रधानमन्त्री बनिसकेका छन् उनी।
समकालीन राजनीतिमा शीर्ष र प्रभावशाली हैसियत राख्ने दाहाललाई साच्चिकै सुरक्षा थ्रेट छ त?
सुरक्षा चुनौतीको चर्चा बढेपछि २०७१ फागुन ९ मा गृहमन्त्रालयले वक्तव्य नै जारी गरेर प्रचण्डलाई उच्चस्तरको सुरक्षा प्रबन्ध मिलाइएको बताएको थियो । सशस्त्र युद्धका दौरान मृत्युलाई प्रचण्डले नजिकबाट नदेखेका होइनन्। शान्तिप्रक्रियामा आएपछि पनि लामो समय ‘नाफाको जीवन’ को चर्चा प्रचण्डले गर्ने गरेका थिए। तर पछिल्लो कालखण्डमा प्रचण्ड आफ्नो जीवनसंग बढी संवेदनशील देखिन थालेका छन्। आफूलाई सुरक्षा खतरा बढेको, आफू मारिन सक्ने, आफूलाई मार्न षड्यन्त्र भइरहेको जस्ता अभिव्यक्ति दिएर प्रचण्डले निरन्तर मृत्युप्रतिको त्रास व्यक्त गर्दै आएका छन्। मृत्युसंग डर नहुने व्यक्ति कोही हुँदैन, तर सशस्त्र युद्धको नेतृत्व गरेर आएको नेताले बारम्बार आफू मारिन सक्ने बताउनुले उनीभित्र या त जीवनको अति मोह या त मृत्युको अति भय छ भन्ने पुष्टि हुन्छ।


पूर्वप्रधानमन्त्रीका रुपमा प्रचण्डको जीवन रक्षाको दायित्व नेपाल सरकारको हो। नेपाली राजनीतिमा प्रचण्डको भूमिका र उपस्थितिको महत्व अझैं लामो समय रहने देखिन्छ। राजनीतिक जीवनमा धेरै जोखिम मोलेका प्रचण्ड, सत्र हजार नेपालीले प्राण आहुति दिएको सशस्त्र संघर्षका कमाण्डर किन यत्ति गलिरहेका छन्? पछिल्लो समय छोरा प्रकाश दाहालको निधनका समयमा प्रचण्डले व्यक्त गरेको शोकले नै उनमा मृत्युप्रतिको चेत खुल्दै गएको बुझिन्थ्यो।
अहिले विगतका आफ्नै कार्यकर्ता, नेत्रविक्रम चन्दले आफूलाई मार्न खोजेको अभिव्यक्ति दिएर प्रचण्डले राजनीतिक 'स्टन्ट' रचेका छन्। अथवा यो स्टन्ट नभएर प्रचण्डको मृत्युप्रतिको त्रासको अभिव्यक्ति पनि हुनसक्छ।
माओवादीबाट बारम्बार टुक्रेर फुटेका विभिन्न समूह मध्ये एउटा सानो समूहको नेृतत्व विप्लवले गरेका हुन्। प्रचण्डजत्तिको नेता त्यति सानो समूहको चेतावनी वा तयारीबाट अत्तालिएझैं प्रस्तुत हुनुले उनको ‘कमजोरी’ सतहमा ल्याएको छ। विप्लव समूहले मार्ने धम्की दिएको या षड्यन्त्र गरेको विषय नेपालको सुरक्षा संयन्त्रले अहिलेसम्म पत्ता लगाएको विषय होइन। तर प्रचण्डले नै विप्लवबाट खतरा देखिरहनुले केही न केही समस्या परेको आँकलन गर्न सकिन्छ।
यो समस्याको समाधानका लागि प्रचण्डले सुरक्षा संयन्त्रको सहायता लिनु जरुरी छ। आफ्नो मृत्यु भय जोगाउन विप्लवविरुद्ध प्रतिबन्ध लगाएका प्रचण्डले सम्भवत: त्यो भयभन्दा अघि धेरै क्षय बेहोर्न बाँकी छ।
विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाउनुका पछाडि प्रचण्डको यही ‘भय’ निर्णायक रहेको तथ्यहरु बताउँछन्। प्रचण्ड स्वयंले आफूलाई मार्न खोजेको भनेपछि विप्लवबाट प्रचण्ड असुरक्षित छन् भन्न गार्हो पर्दैन। तर सशस्त्र युद्धको नेतृत्व गरेर आएको नेताले , आफूलाई ‘जनयुद्ध’को सर्वोच्च कमाण्डर भन्न रुचाउनेले बोल्दैपिच्छे मृत्युको भय पोखेको रत्तिभर स्वभाविक देखिएको छैन। विप्लवलाई त तह लगाउने जिम्मा सरकारले लिएको छ। तर लामो समय ‘मृत्युको खेल’ खेलेका प्रचण्डको ‘मृत्युको डर’ कसरी नामेट पार्ने? यस्तो विधि मार्क्सवाद र माओवादमा कतै उल्लेख छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।