साहित्यकार गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन

नेपाल लाइभ | २०७५ पौष २९ आइतबार | Sunday, January 13, 2019 ०८:१५:०० मा प्रकाशित

नवलपरासी– वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई शनिबार नवलपरासी (सुस्ता पूर्व)को गैँडाकोटका बासिन्दाले नागरिक अभिनन्दन गरेका छन्।

पूर्वी नवलपरासीको गैँडाकोटमा जन्मेर नेपाली साहित्यमा पुर्याउएको योगदानको उच्च मूल्याङ्कन गर्दै गैँडाकोटका नागरिकका तर्फबाट साहित्यकार विनोदीलाई भव्य अभिनन्नदन गरिएको हो। विनोदीको घरबाट शोभायात्रा निकाली गैँडाकोटका विभिन्न क्षेत्रमा परिक्रमा गराई नागरिक अभिनन्दन गरिएको ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले बताए।

विनोदीले ‘मेरो वर्तमान’, ‘निर्मम घडीहरु’, ‘आखाँको नानी’, ‘छन्दविनोद, अभिश्रान्त’, ‘हिमस्पर्श’, ‘सृष्टि माथिको दृष्टि’, ‘अनुपमा धर्ती’, ‘नानीका गीत’, ‘वनभोज’, ‘शुर्पणखा’, ‘कैकयी’ जस्ता काव्यहरु लेखेका छन्। नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदानको मूल्याकङ्न गर्दै नागरिक अभिन्नदन गरिएको साहित्यकार गोविन्दराज कोइरालाले बताए।

गैँडाकोटमा आयोजित कार्यक्रममा प्राज्ञ वासुदेव त्रिपाठीले विनोदीलाई सम्मान तथा अभिनन्दन गरेका थिए। कार्यक्रममा प्राज्ञ त्रिपाठीले कवि विनोदीले साहित्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता सर्जकको उर्जाले देशको साहित्य क्षेत्रको विकासमा ठूलो महत्व राख्ने बताए।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैँडाकोटमा जन्मेर नेपालको साहित्यको क्षेत्रमा कवि विनोदीले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस्ता सर्जकलाई राज्यले पनि सम्मान गर्नुपर्ने विचार व्यक्त गरे। रासस