काठमाडौं– रिलिजको संघारमा रहेको फिल्म ‘गोपी’ युनिटले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भेटघाट गरेकाे छ। सिंहदरबारस्थित श्रम मन्त्रालयमा मंगलबार फिल्मका कलाकार, निर्माता तथा निर्देशकसहितको टोलीले मन्त्री विष्टसँग भेटघाट गरेका हुन्।
फिल्ममा आन्तरिक श्रमको विषय उठान गरिएको छ। भेटघाटको क्रममा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएको बताए। फिल्मसम्बन्धी थप जानकारीका लागि फिल्म युनिटसँग साक्षात्कार गर्न पाएकोमा मन्त्री विष्टले खुशी व्यक्त गरेका फिल्म निर्देशक दीपेन्द्र लामाले बताए।
भेटमा मन्त्री विष्टले भने, ‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ। अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ। सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुसी लाग्यो।’
मन्त्री विष्टले फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा आफ्नो पनि नैतिक समर्थन र ऐक्यबद्धता रहेको जनाएका निर्देशक लामाले बताए।
मन्त्री विष्टले आफूले यदाकदा नेपाली फिल्म हेर्ने गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए। भेटघाटका क्रममा उनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए।
निर्देशक लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए।
‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा। त्यो समूहलाई फिल्मको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका छौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भए पनि सफल भएको महसुस भएको छ।’
लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए।
मन्त्री विष्टसँगको भेटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक तिमल्सेना सहभागी थिए।
फिल्म माघ १८ मा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।