काठमाडौं– चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पहिलो भागकै कथाको निरन्तरता भए पनि यसपटक कथा अझ रमाइलो र भावनात्मक रहेको बताएका छन् ।
बिष्टले पहिलो भाग जहाँ टुंगिएको थियो, दोस्रो भागको कथा त्यहीँबाट अघि बढ्ने बताए । उनका अनुसार चलचित्रमा अधिकांश पात्र र कलाकार पुरानै छन् भने दाजुको भूमिकामा भने परिवर्तन भएको छ ।
‘क्यारेक्टर त्यही हो, तर यसमा अझ रमाइलो छ । हामी बुढीको कुरा बढी सुन्छौँ, अझ झगडा गर्छौँ र अझ रमाइलो गर्छौँ,’ उनले भने ।
चलचित्रको दोस्रो भागमा कलाकारहरूबीचको सम्बन्ध पनि थप आत्मीय बनेको उनको अनुभव छ । पहिलो भागमा मुकुन भुसालसँग काम गरेका बिष्टले दोस्रो भागमा महेश त्रिपाठीसँग दाजुभाइको भूमिका निर्वाह गरेका छन् ।
नयाँ सहकर्मीसँग सुरुमा केही समय घुलमिल हुन लागे पनि सुटिङ सुरु भएपछि पहिलेकै आत्मीयता महसुस भएको उनले बताए ।
‘ब्याड लक’बाट ‘झिँगेदाउ’सम्म
बिष्टका अनुसार उनी ‘झिँगेदाउ’मा संयोगले जोडिएका हुन् । उनी त्यसअघि ‘ब्याड लक’ नामक सिरियलमा अभिनेता सविन श्रेष्ठसँग काम गरिरहेका थिए । त्यही सिरियल हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनलाई चलचित्रमा कान्छो भाइको भूमिकाका लागि छनोट गरेका थिए ।
देउजाका छोराछोरीलाई ‘ब्याड लक’ मन पर्ने र उनीहरूले बिष्टलाई चलचित्रका लागि विचार गर्न सुझाएको उनले बताए । त्यसपछि देउजा र बिष्टबीच भेट भयो र उनलाई ‘झिँगेदाउ’मा अभिनयको प्रस्ताव गरिएको थियो ।
चलचित्रको कथा पुरानो समयको परिवेशमा आधारित भएकाले अभिनयका क्रममा निर्देशक देउजाबाट आफूले धेरै कुरा सिकेको बिष्टको भनाइ छ ।
तत्कालीन समयको जीवनशैली, पैसाको प्रयोग, जनै लगाउने तरिका तथा खाना खानुअघि गरिने व्यवहारजस्ता विषय आफूलाई थाहा नभएकाले देउजाले दृश्यअनुसार आवश्यक जानकारी र निर्देशन दिने गरेको उनले बताए ।
घरघरमा देखिने मनमुटावको फिल्मी रूप
‘झिँगेदाउ’को कथा नेपाली समाजका धेरै घरमा देखिने पारिवारिक सम्बन्ध र मनमुटावसँग जोडिएको बिष्टको बुझाइ छ । विशेषगरी देउरानी–जेठानीबीचको सम्बन्ध, दाजुभाइबीचको दूरी र परिवारभित्र हुने मतभेदलाई चलचित्रले प्रस्तुत गरेको उनले बताए ।
तर वास्तविक जीवनमा चलचित्रमा देखाइएजस्तो लुछाचुँडी र कुटाकुट भने नहुने उनको भनाइ छ । घरघरमा हुने सामान्य मनमुटावलाई चलचित्रमा थप उतारचढाव र मनोरञ्जनका साथ प्रस्तुत गरिएको उनले बताए ।
‘यो रियल लाइफमा धेरै जनाको घरमा घटिरहेको घटना हो । तर यति धेरै झगडा त हुँदैन होला । मनमुटाव चाहिँ भइरहेको हुन्छ,’ उनले भने ।
उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै परिवारमा आमा, बुहारी र छोराछोरी मिलेर बस्नुपर्ने सन्देश पनि दिन्छ । चलचित्रमा नकारात्मक र सकारात्मक दुवै चरित्र राखेर कथा अघि बढाइएको उनको भनाइ छ ।
पहिलो भागमा आमाले हुर्काएका दुई छोराले विवाहपछि पत्नीको कुरा सुनेर घर बिगारेको र आमालाई एक्ल्याएको कथा थियो । दोस्रो भागमा भने त्यही परिवार आमाको खोजीमा निस्कन्छ ।
‘हामी सबै मिलेर आमालाई खोज्न जान्छौँ । दाजुभाइ र भाउजूहरू सबै मिलेर आमालाई खोज्न जान्छौँ,’ बिष्टले भने ।
चलचित्रको टिजरमा पनि आमाको खोजीको प्रसंग देखाइएको छ । तर कथाका धेरै कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
आमाको खोजीको प्रसंगले चलचित्रलाई भावनात्मक बनाएको उनको अनुभव छ । आमालाई खोज्ने क्रममा आउने गीत र दृश्यले दर्शकको मन छुने उनको विश्वास छ ।
‘आमा भन्नेबित्तिकै मान्छेलाई मन छुन्छ । हामी पनि सुटिङ गर्दाखेरि आमा खोजिरहेका छौँ भन्ने सिचुएसनमा मन छुन्थ्यो,’ उनले स्मरण गरे ।
पर्दामा कुटाकुट, पर्दापछाडि सावधानी
चलचित्रमा कलाकारबीच झगडा र कुटाकुटका दृश्य पनि छन् । यस्ता दृश्य छायांकन गर्दा वास्तविक चोट नलागोस् भन्नेमा विशेष सावधानी अपनाइएको बिष्टले बताए ।
क्यामेरामा वास्तविक कुटाकुटजस्तो देखिनुपर्ने तर कलाकारलाई चोट नलाग्ने गरी दृश्य तयार गर्नुपर्ने भएकाले त्यस्ता दृश्य चुनौतीपूर्ण भए पनि रमाइलो लागेको उनको अनुभव छ ।
पहिलो भागमै केकी अधिकारी र आँचल शर्मासँग यस्ता दृश्यमा काम गरिसकेकाले दोस्रो भागमा केही सहज भएको उनले बताए । महेश त्रिपाठीसँग पनि एकअर्कालाई बचाउँदै दृश्य छायांकन गरिएको उनको भनाइ छ ।
चलचित्रमा देखाइने पारिवारिक झगडासँग जोडेर आफ्नो वास्तविक जीवनबारे प्रश्न गर्दा बिष्टले आफूले अहिलेसम्म विवाह नगरेको बताए ।
उनले आफूलाई आमा र आफू दुवैलाई बुझ्ने जीवनसाथीको खोजीमा रहेको रमाइलो शैलीमा सुनाए ।
‘एउटा राम्री बुढी(श्रीमती)को खोजीमा छु, जसले आमालाई नि बुझोस्, मलाई नि बुझोस्,’ उनले हाँस्दै भने ।
‘पिट्ने जीवनसाथी’ नआओस् भन्ने चाहना
चलचित्रमा देखाइने पारिवारिक झगडा र कुटाकुटलाई आफ्नो वास्तविक जीवनसँग जोड्दै बिष्टले विवाहबारे पनि रमाइलो टिप्पणी गरे । पर्दामा देखिएजस्तो झगडालु वैवाहिक जीवन आफ्नो वास्तविक जीवनमा नआओस् भन्ने उनको चाहना छ ।
‘त्यस्तो जिन्दगी नै झिँगेदाउ होला जस्तो लाग्छ त्यस्तो भयो भने चाहिँ,’ उनले हाँस्दै भने, ‘रियलमा त्यस्तो पिट्ने बुढी त आउँदैन होला । त्यसैको खोजीमा छौँ भनौँ न।’
आफूले मन मिल्ने र राम्रो मान्छे भेटेपछि भने विवाह गर्ने संकेत गर्दै उनले भविष्यकी जीवनसाथीलाई चलचित्रको कथा हेर्न लगाउने ठट्टासमेत गरे ।
चलचित्रमा दाजुभाइ, आमा र बुहारीबीचको सम्बन्ध तथा पारिवारिक कलहलाई हास्य र भावनासँग जोडेर प्रस्तुत गरिएको छ । त्यसैले पर्दामा देखिने ‘झिँगेदाउ’लाई वास्तविक जीवनमा भने दोहो¥याउन नहुने सन्देश आफूले पनि लिएको बिष्टको भनाइ छ ।
‘झिँगेदाउ २’प्रति आशावादी
‘झिँगेदाउ २’ पहिलो भागभन्दा अझ राम्रो बनाउने प्रयास गरिएको बिष्टको दाबी छ । पहिलो भागलाई दर्शकले दिएको मायाका कारण दोस्रो भागप्रति आफूहरू थप आशावादी रहेको उनले बताए ।
पहिलो भाग हालै युट्युबमा सार्वजनिक भएको र छोटो समयमै ठूलो संख्यामा दर्शकले हेरेको उल्लेख गर्दै उनले त्यसले दोस्रो भागप्रति दर्शकको चासो बढाउने विश्वास व्यक्त गरे । दोस्रो भागको टिजरले पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए ।
‘एकचोटि हलमा गएर हेरौँ न त कस्तो रहेछ भनेर आउनुहुन्छ होला जस्तो लाग्छ । आइसकेपछि दर्शकलाई बाँधेर राख्छ भन्ने कुरामा हामीलाई विश्वास छ,’ उनले भने ।
अभिनय क्षेत्रमा भविष्य खोजिरहेका कलाकारलाई निरन्तर प्रयास गरिरहन पनि बिष्टले सुझाव दिए । सफलता हासिल गर्न समय लागे पनि आफूले माया गरेको क्षेत्रमा हार नमानिकन काम गरिरहनुपर्ने उनको भनाइ छ ।
‘झिँगेदाउ २’ असोज २ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ । चलचित्र विदेशमा पनि प्रदर्शन हुने बिष्टले जानकारी दिए । पहिलो भागलाई दर्शकले दिएको मायालाई दोस्रो भागमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले दर्शकलाई परिवारसहित हलमा पुगेर चलचित्र हेर्न आग्रह गरेका छन् ।
‘असोज २ गतेबाट नेपालभरि र विदेशमा पनि चल्दैछ । एकचोटि नजिकको सिनेमा थिएटरमा गएर ‘झिँगेदाउ २’ सम्पूर्ण परिवारसँगै बसेर हेरिदिनुहोला,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।