काठमाडौं– विशेष अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी झिकाउने आदेश गरेको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो ।
पतञ्जलीको जग्गाको भ्रष्टाचार मुद्दामा सुनुवाइपछि सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितानले बताइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेषमा २०८२ जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो ।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको थियो ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको अख्तियारको दावी थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।