काठमाडौं – अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न भक्तपुर अदालतले आदेश दिएको छ । आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले शुक्रबार २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । तर तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनी माथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।